NP EN

गणतन्त्रको रक्षा र सफल कार्यान्वयनका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकताः प्रधानमन्त्री

समसामयिक विषयमा सम्बोधन

-थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
-चैत १५ गते भएका हिंस्रक र आततायी घटना निन्दनीय, संलग्नलाई कार्वाही हुन्छ 
-पूर्वराजा ज्ञानेन्द्र शाहबाट संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन
-आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न

१८ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ । 
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुभयो ।
यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण हुने बताउनुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ । 
उहाँले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।  
प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नुहुनेछ र सम्बोधनलगत्तै सम्मेलनमा सहभागी विभिन्न मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय सभाको बैठकमा पनि सम्बोधन गर्नुभएको छ । 
प्रधानमन्त्री ओलीले २०८१ चैत १८ मा प्रतिनिधिसभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय,
१.    मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागिता
    भोलिबाट मित्र राष्ट्र थाइल्याण्डमा मेरो औपचारिक भ्रमण हुँदैछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदैछ । यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यस पटक नेपालको तर्फबाट पहिलो पटक कार्यकारी प्रमुखको औपचारिक भ्रमण हुँदैछ । यस अर्थमा यो भ्रमण आफैँमा महत्वपूर्ण हो भन्ने ठान्दछुु । भोलि  १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ ।  
    २० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ । 
    यसपटक पर्यटन र सँस्कृतिको सन्दर्भमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
    द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु । 
    थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ । 
    २१ गते (३ अप्रिल) विहान थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग मेरो भेटघाट र छलफल हुनेछ । दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु । 
    साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछु । 
    समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरू २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ । 
    २२ गते हामी बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछौं । विहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछु । दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
    साँझ दुतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिने छन् । 
    २३ गते हामी स्वदेश फर्किने छौं । 
यस भ्रमणका दुुईवटा उद्देश्य मैले भनेँ, एउटा औपचारिक भ्रमण र अर्को विमस्टेक शिखर सम्मेलनमा सहभागिता । यसै सन्दर्भमा अरु केही साइड लाइनका कामहरू हुने मैले यस गरिमामय सदनसमक्ष  जानकारीका लागि निवदेन गरेको छु । 
२. समसामयिक विषय
    गत चैत १५ गते दुई वटा राजनीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुबै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध–आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरूलाई सचेत गराएको थियो । 
    यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘समाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो । आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई खबरदारी गर्यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो । 
    शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु ।
    काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशङ्का र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशङ्काका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरूको पनि थियो । 
    तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमाण्डर” आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुङ्गामुुढा गर्ने,  प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए ।
    हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुङ्गामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरू लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन, मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आततायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।
    यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होऊन््, जुनसुकै कभरमा किन नहोऊन्, कडा प्रशासनिक कार्वाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ । 
    घटनामा संलग्नहरूमाथि छानविन सुरु भएको छ । यसका योजनाकार को हुन्  र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानविन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदन पछि आउने मैले बताइसकेको छुु । 
    यस घटनाको पृष्ठभूमिमा करिव एकवर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।
    यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।
    प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ । त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो । 
    आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप ! कसरी हुन सक्छ ? 
    यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।
३. शासन/प्रशासन
    केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । 
    तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । 
    राष्ट्रसेवक कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल चाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । 
    यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सहि कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला । 
    त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टिकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ । भइरहेको छ । 
    अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ । 
    त्यसैले यस विषयमा मलाई  लाग्छ थप बहस नगरौं, अहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन । अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिङ्गो सदन एक हुनुपर्ने आवश्यकता छ । 
हामीले सुनेका छौं, व्यवस्थाका विरुद्ध, प्रणालीका विरुद्ध,  लोकतन्त्रका विरुद्ध,  संविधानका विरुद्ध लल्कारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिङ्गै समाज गम्भीर हुनुपर्दछ । 
हामी जनप्रतिनिधि हौं । संविधानको सपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा सपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यसकारण सपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको सपथ हामी सबैले उभिएर लिएका हौला । संविधानको सपथ लिने, अनि संविधानको खिलाप लिने, संविधानभन्दा माथि सपथ कसैले देश र जनताका नाममा लिएका हौला, कसैले ईश्वरका नाममा लिएका हौला । ईश्वरका नाममा सपथ लिएर संविधानको सपथ लिएर, ईश्वरका नाममा सपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौं । अहिले यति नै भनौं । 
सबैलाई धन्यवाद ।

सम्बन्धित