१६ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरूले रोपेको बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ शहीदहरूले रोपेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्नुभएको छ ।
यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र काँग्रेसको सहकार्यले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै अध्यक्ष ओलीले शुभकामना सन्देशमा लेख्नुभएको छ– निरङ्कुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र काँग्रेसको संयुक्त आन्दोलनको उपज हो ।
अध्यक्ष ओलीले आजको दिनलाई केवल क्यालेण्डरको एउटा मिति जस्तो मात्र लागे पनि विगतलाई हेर्ने हो भने यो स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा थाहा हुने बताउनुभएको छ । अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिवद्धता जनाउनुभएको छ ।