NP EN

काठमाडौंमा रहेका कार्यकर्तालाई आफ्नो निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन

२२ माघ (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका  कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो  निर्वाचन क्षेत्र फर्कन  निर्देशन दिनुभएको  छ । 
पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको  हो । 
अध्यक्ष ओलीले भन्नुभयो– तपाईंहरू विभिन्न पेशा व्यवसाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ, समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा माहोल बनाउनुहोस् । आफन्त भेट्नुहोस् । साथीभाइसँग बस्नुहोस् । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस् । 
जहाजमा यात्रीको रूपमा चढेको व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन, जोखिमपूर्ण पनि हुने उल्लेख गर्दै उहाँले विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रचार गरिरहेको तर अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट यस्तो कुरा सम्भव नहुने बताउनुभयो । 
‘जहाजमा यात्रुको रूपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ ?’ अध्यक्ष ओलीले भन्नुभयो– त्यस्तो जहाजमा कोही चढ्लान् त ? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला ? त्यसकारण अहिले सबैले सोचविचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ । 
निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगरिने स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो– प्रधानमन्त्रीले हिमालमा हिँउ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें, यो कुनै हालतमा पनि स्वीकार्य हँुदैन । पोहोर हिउँद भन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिँउ पर्छ भन्ने कुरा थाहा हुन्छ । अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा ?
अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– निर्वाचनको तयारी निष्पक्ष, मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ, मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन । त्यसमा सबै चनाखो हुनुहोस ।
अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढङ्गले जित्ने भएकाले  सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिनुभयो । 
‘विभिन्न फिरङ्गीहरू आउन सक्छन् । त्यस्तालाई चिन्नुहोस्’ अध्यक्ष ओलीले भन्नुभयो– हामीले गरेका विकास निर्माणका काम, सुशासनका काम, जनचेतनाका काम जनतालाई भन्नुहोस् । मतदाताको मन जित्ने गरी काम गर्नुहोस् ।
कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गर्नुभएको थियो । 

सम्बन्धित