NP EN

केपी शर्मा ओलीः सङ्रक्षेपमा

 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ ।

पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर वयका मनोरोमाञ्चक समयलाई राजनीतिक अधिकार, समाजिक न्याय, समानता र देशभक्तिको बलिवेदीमा होम्यो र आफ्नो निजी सुखका सबै मार्गहरु जर्जर बनाएर बन्द गरायो । लोकतन्त्रका लागि लामो संघर्ष, जेलनेल, पटक पटक कठोर यातना र मृत्युसँग साक्षत्कार गरेर व्यवस्था फे¥यो । 

दोस्रो– लोकतान्त्रिक संरचनाहरुको संस्थाकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको आचरणसिद्ध प्रयोग, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुख बहालीको मार्गचित्र रचना ।

यस दृश्यमा ओलीलाई लोकतान्त्रिक प्रणालीमा निर्माण भएका संस्थाहरुको दुरुपयोगसँग लडिरहेको, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षामा सक्रिय रहेको, देशको भूराजनीतिक सामथ्र्य विस्तारमा समय लगाइरहेको, दीर्घकालीन विकासका कार्यक्रम तथा आयोजनाका जग खनिरहेको, सामाजिक सुरक्षामा संरचनात्मक थालनी गरिरहेको र ती काममा भएका भड्काउपूर्ण अवरोधहरुको सामना गरिरहेको देख्न सकिन्छ । जसले राजनीतिलाई व्यक्तिगत लाभमा उपयोग गर्ने तदर्थ कित्ता एकातिर र ओलीको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दौर अर्काेतिर चलिरहेको सहजै देखाउँछ ।

सुक्ष्म अनुभूति गर्नेहरुका लागि ओलीको जीवनको अर्काे पाटो छ– ज्ञान विवेचना र त्यसले पैदा गर्ने गुरुत्व । जसले केपी शर्मा ओलीलाई कम्युनिष्ट पार्टीको नेताको परिचयबाट ‘केपी बा’ मा विस्तार गरेको छ । सहज सामाजिक अन्तक्र्रिया, समाजका सबै पेशागत र सिर्जनात्मक क्षेत्रमाथिको दृष्टि, विषयगत अध्ययन र संवाद शैलीले उहाँलाई अनुयायी र आलोचक दुबैथरी आफ्नो मष्तिष्कमा राख्न बाध्य छन् । 

ओलीको त्यही सामाजिक गुरुत्वका कारण राजनीतिमा देखिन मिल्ने र नमिल्ने, देखिने र नदेखिने शक्तिहरुको उहाँ बिरुद्ध मोर्चाबन्दी हुने गरेको छ । ओलीको यही सामथ्र्य समकालीन अन्य दल र तिनका नेताहरुमा भयको कारकका रुपमा देख्न सकिन्छ र उनीहरुको व्यवहार र अभिव्यक्ति यसैमा आधारित भएर प्रकट हुने गरेको छ ।

केपी शर्मा ओलीले राजनीतिको यस शिखरसम्म आइपुग्न हरबखत मृत्युसँग ठोक्किएको ५६ वर्ष लामो संघर्षपूर्ण राजनीतिक यात्रा, १४ वर्ष लामो कठोर जेल जीवन र विकास र समृद्धिको नेतृत्व गर्ने यात्रा पार गर्नु भएको छ । मुलुकको शक्तिसाली पार्टीको अध्यक्ष र देशको कार्यकारी प्रमुखको ओलीको यात्रा पाइला पाइलामा मृत्युको खतरा बोकेर हिंडेको प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट सुरु भएको हो ।  

पछिल्लो पटक विक्रम सम्वत् २०७८ मंसीर १० गते चितवनमा लाखौं जनताको सहभागितामा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।  

अध्यक्षमा निर्वाचित हुनुअघिको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले भन्नु भएको थियो– ‘म धेरैपल्ट जीर्ण स्वास्थ्य अवस्थाबाट, धेरै जटिल अप्रेशनहरुबाट गुज्रिएर आएको हुँ । भन्न सक्दिनँ, म कति बाँच्छु । तर, मलाई आज सन्तोष लागेको छ, किनभने म तपाईंहरुलाई आफ्नो अगाडि देखिरहेको छु । जब म तपाईंहरुका हिम्मती चेहराहरु देख्छु– म देशको भविष्य सुरक्षित देख्छु, आन्दोलनको भविष्य सुरक्षित देख्छु, पार्टीको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु । र, सर्वोपरि कुरा त समृद्धिको यात्रा सुरक्षित र सुनिश्चित रुपमा अगाडि बढ्छ भन्ने कुराको एकीन देख्छु ।’ 

लोकतन्त्रमा जनताको र पार्टीमा कार्यकर्ताको सर्वाेपरि निर्णायकत्वको आचरणसिद्ध निष्ठा अनि मुलुकको समृद्धिको सुरक्षित र सुनिश्चित यात्रामा अध्यक्ष ओलीको अद्वितीय आस्था रहेको यस अभिव्यक्तिले उजागर गर्दछ । यद्यपि ओली स्वयंको जीवन लोकतन्त्रका लागि कठोर र यातनापूर्ण संघर्षले भरिएकोले लोकतन्त्र प्रतिको निष्ठामा उहाँका अभिव्यक्तिमा मात्रै निर्भर रहनु पर्दैन । किनभने उहाँको जीवन नै लोकतान्त्रिक आन्दोलनको पाठःशाला बनेको छ । 

दशौं महाधिवेशनको केही महीनाअघि मात्रै अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई संविधानमा किटान गरिए भन्दा बिपरीत तवरले सर्वोच्च अदालतको परमादेश मार्फत् हटाइएको थियो र सरकार बनाउने एकमात्र थलो संसद्लाई जानकारी नदिइ अदालतबाट अर्काे प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

त्यसअघि राजनीतिक अस्थिरताको शिकार बनेको मुलुकमा एउटा सरकार बन्नुलाई नै उपलब्धि ठान्ने स्थिति थियो र विकासको दायित्वबाट सरकार बाँधिने सामान्य राजनीतिक चेष्टा समेत देशले गुमाएको थियो । राष्ट्रको स्रोत र शक्ति राजनीति गर्ने व्यक्तिहरुबीच भागबण्डा मिलाउनु नै राजनीति हो भन्ने भाष्य थियो, जसलाई ओलीको सरकारले तीन वर्षमा बदलेको थियो । र, पहिलो पटक समाजमा विकासका आयोजना र कार्यक्रमहरुका विषयमा बहस हुन थालेको थियो।

अध्यक्ष ओली नेतृत्वको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, अग्रगामी, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउने काम अघि बढाएको थियो । अभिव्यक्ति, व्यवहार र सरकारले अवलम्बन गरेका नीतिहरुमा देशको आत्मनिर्भरताका दीर्घकालीन छनकहरु आउन थालेका थिए । 

ओली सरकारले थालनी गरेका काम दूरगामी महत्वका थिए । निराशा, अन्यौल, विपन्नता र पछौटेपनको अंध्यारो छाएको नेपाली राजनीतिको क्षितिजमा आशा, भरोसा, राष्ट्रको समृद्धि र जनताको सुखको बहस आरम्भ भएको थियो ।  

तर ओली सरकार हटाइएपछि ती सबैजसो विकास अभियान अबरुद्ध भए । पुनः नेपाली राजनीति दल र दलका नेताहरुबीच राज्यसत्ता, स्रोत र शक्ति बाँडफाँडको कार्यसूचीमै केन्द्रित हुन पुग्यो ।

राजनीतिको प्रचलित भाष्य भन्दा अध्यक्ष ओलीको चिन्तन भिन्न रहेको कुरा सरकारबाट हटेपछि उहाँको यो भनाइले देखाउँछ– ‘जनादेशबाट, जनताको समर्थनको अभावमा, हाम्रो कार्यक्षमताको अभावमा वा असफलताको कारणले हामी सरकारबाट हटेका होइनौं । षडयन्त्रका कारणले, असंवैधानिक ढंगले, मर्यादित र राजनीतिमा निष्पक्ष राख्नु पर्ने, राजनीतिमा संलग्न हुन नहुने, गराउन नहुने शक्तिहरु संलग्न भएर हामीलाई सरकारबाट हटाइयो । त्यसै कारणले देश अस्थिरता र अन्योलको दौरबाट गुज्रिरहेको छ । लोकतन्त्रका जुइनाहरु, नटबोल्टहरु कमजोर पार्ने क्रियाकलापहरु भइरहेका छन्, आर्थिक अनियमितता र संकटतर्फ देश धकेलिएको छ । हामी सरकारमा नरहेको चिन्ता होइन, देशलाई पछि पारिएकोले चिन्ता बढेको छ ।’ 

राजनीतिक जन्म

केपी शर्मा ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत संघर्षको गर्भबाट भएको हो । त्यसभित्र देशभक्ति, लोकतन्त्र र सामाजिक न्याय समानता र जागरणको धारा समाहित छ ।

देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवहार र आचरणको संगति कायम गर्न ओली सफल हुनु भएको छ । निरंकुश शासनसत्ताले टाउकोमाथि हर्दम मृत्युदण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरवारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनु भयो ।  

सरकारमा हुँदा गरेको नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धि, लिम्पियाधुरा–लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्सा, विकास निर्माणका काममा तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम आदिले कम्युनिष्ट आन्दोलन थालनी र अहिलेको काम बीचको संगतिका सामान्य झलक दिन्छन् ।  

ओलीले भन्नु भएको छ– ‘हामीले सुरुदेखि नै देशभक्तिको धारा, त्यसको अभिभारा, लोकतान्त्रिक आन्दोलनको धारा, त्यसको अभिभारा, सामाजिक जागरण र परिवर्तनको धारा र यी तीनवटै अभिभारालाई अगाडि बढाउँदै आयौं । आज हाम्रो पार्टी यी तीनवटै सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति र व्यवहारहरु तथा सम्बन्धहरुको सञ्चालनका सन्दर्भमा अत्यन्तै स्पस्टताका साथ र एउटा हैसियतका साथ स्थापित छ ।’ 

सुदूर पूर्वी जिल्ला तेह्रथुमको आठराई इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ गते ओलीको जन्म भयो । चार वर्षको उमेरमै आमाको निधन भएपछि उहाँ मातृस्नेह विमुख हुन पुग्नु भयो । आमाको स्नेही काख गुमाउनु भएका ओलीको पालनपोषण हजुरआमाबाट भयो । 

ग्रमीण किसान परिवारको बालकमा पारिवारिक भारको रुपमा रहने गाईबस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम उहाँले गर्नु भयो । 

आफ्नो बाल्यकालबारे सोधिएको प्रश्नमा टेलिभिजन अन्तरवार्तामा उहाँले भन्नु भएको छ– ‘हाम्रो परिवारमा त्यसबेला छोरीहरु थिएनन् । हजुरआमा मात्र रहनु भयो । हजुरआमाले बढारेको देखेपछि मलाई पनि बढार्नु पर्छ भन्ने लाग्यो, मैले त्यही सिकें । उहाँले घर पोतेको देखेपछि घर पोत्नु पर्छ भन्ने लाग्यो र घर पोत्ने लिप्ने काम पनि गरें । भाँडा माझेको देखेपछि भाँडा माझ्ने गर्दै मैले हजुरआमाले गर्ने घरायसी कामहरु सबैजसो गरें । ब्रतन्ध भएपछि मैले खाना पकाउन पनि सिकें । खाना पकाउने, भाँडा माझ्नेदेखि लिएर तरकारी काट्ने, मसला पिस्ने, वत्ति बाल्ने धागो कात्ने, गाइबस्तु चराउने, अलि पछि भकारो सोहोर्ने, कुँडो पानी खुवाउँने, सबै काम म गर्थें ।  मलाई पढ्न र घरका कामहरू गर्न आनन्द लाग्थ्यो ।’ 

तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ स¥यो । नयाँ ठाउँमा नयाँ साथी संगतिहरु फेला परे । नयाँ ठाउँमा नयाँ साथीहरु भेट्दा समाजका चालचलन र वरपरका घटनाहरुबारे जिज्ञासा र प्रश्नहरु जन्मिन्छन् । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वाभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नहरुको उत्तर खोज्नतिर प्रेरित ग¥यो ।

एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासाहरु र अर्काेतिर संगतमा आएका नयाँ साथीहरु– यसले उहाँको राजनीतिक जीवनको भ्रुँण तयार ग¥यो । यसै क्रममा १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उहाँ माक्र्सवादी अध्ययन दलमा सामेल हुनु भयो । यसमा मुख्य अगुवा हुनुहुन्थ्यो रामनाथ दाहाल । दाहाललाई पछि पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर गोली हानी हत्या ग¥यो, जो झापा आन्दोलनका शहीद हुनुहुन्छ ।

माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै उहाँ पूर्णकालीन राजनीतिमा सामेल हुनु भयो । २०२५ सालमा पूर्णकालीन राजनीतिमा सामेल हुँदा उहाँ १७ वर्षको हुनुहुन्थ्यो । पूर्णकालीन राजनीतिमा सामेल भएको एक वर्षमै २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनु भयो । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नु भयो । त्यसपछिका ४ वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो ।  

झापा बसाइँ सरेपछि ओलीका बुबा एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेतीकिसानीमा लाग्नु भएको थियो । जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोला पसेर जग्गा बगायो । त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो । त्यसबेला ओली भारी बोक्ने बाहेक खेती किसानीमा बुबालाई सघाउनु हुन्थ्यो ।

‘म पढ्न स्कूल पनि गइरहेको थिएँ र काम पनि गरिरहेको थिएँ । म भारी बोक्ने बाहेक सबै काम गर्थें, मैले नसक्ने भनेको भारी बोक्ने काम मात्रै हो । खोलाले जमिन बगाएपछि हामीले अलिअलि जग्गा किन्न सुरु ग¥यौं । स्कूलको जमिन ठेक्कामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो । त्यसबेला हामी धनी किसानको स्थितिमा थियौं । त्यसपछि हामी गरिब किसानको स्थितिमा र एकपटक सुकुम्बासीको स्थितिमा झर्नुप¥यो ।’ उहाँले आफ्नो पारिवारिक स्थितिबारे वताउनु भएको छ ।

परिवारको आर्थिक अवस्था सम्हाल्न आफैंले काम गर्नु पर्ने अवस्था भए पनि उहाँ भूमिगत राजनीतिमा सामेल भइसकेकाले त्यता लाग्न पाउनु भएन । ‘म परिवारको स्थिति सम्हाल्नेतिर लाग्न पाइनँ, किनभने म राजनीतितिर लागिसकेको थिएँ । त्यसले बुवालाई अलिकति असहज भयो’ पारिवारिक समस्या छोडेर राजनीतिमा लागेका दिनलाई उहाँ यसरी सम्झिनुहुन्छ ।

यता ठेक्का लिएर कमाइ गरेको जग्गा खोलाले बगाउनु, उता उहाँ कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको जिम्मेवारीमा रहनु– यो घटना उहाँको राजनीतिक यात्राको वीजजस्तै बन्यो । फलदायी हरेक अभियानहरु यस्तै कठिनाइको गर्भमा हुन्छन् भन्ने दृष्टान्तका रुपमा यसलाई लिन सकिन्छ । किनभने यही समयको आसपास २०२८ सालमा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनु भएको थियो, जुन आन्दोलनको तापबाट आज नेपालमा बहुमत जनताले रुचाएको पार्टी नेकपा (एमाले)को जग बसेको हो । त्यो एउटै समयबिन्दु थियो– जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिष्ट पार्टीको जीवनले नयाँ सिंढीमा पाइला टेक्यो । 

देशमा निरंकुश पञ्चायती व्यवस्था थियो, जनतामा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन । स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो । न्याय, समानता, स्वतन्त्रता र मानव अधिकारको पैरवीलाई अपराधका रुपमा लिइन्थ्यो । न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन संगठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीब्र र कठोर दमन ग¥यो । ओली लगायत झापा आन्दोलनका क्रान्तिकारीहरु २०३० साल असोज २३ गते पक्राउ परे ।

ओलीले ४ वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास विताउनु भयो भने उहाँका ५ जना सहयोद्धाहरुलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन ।

त्यस घटनाबारे ओलीले सुनाउनु भएको छ– ‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । मलाई प्रहरीको भ्यानमा राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा मेरो लास पुर्न खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । तर, सइ मोहनप्रसाद अधिकारीका कारण त्यो दिन मेरो ज्यान जानबाट जोगियो ।’

जेलभित्रको पनि जेल मनिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकाहरूलाई राखेर यातना दिइन्छ, त्यहाँ राखेर उहाँलाई चरम यातना दिइन्थ्यो ।  

उहाँकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेख्नु भएको छ–‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबको लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टीट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने÷ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो । आजको सभ्य समाजका लागि यो कल्पनातीत विषय हो ।’

संयोगवश मृत्युको मुखबाट फर्किनु भएका ओली जेलमै रहंदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापकको हैसियतमा रहनु भयो । जेल भित्रै निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो ।

२०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन ग¥यो र पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।

नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नु भयो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनु भयो । 

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा पनि झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो । यसै बीचका विभिन्न समयमा ओली पार्टीको पोलिटव्युरो सदस्य सहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहनु भयो ।

ग्रामीण वर्गसंघर्षको गर्भबाट राजनीतिक जन्म लिएका ओली निरंकुश व्यवस्था बिरुद्धको कठिन संघर्षबाट खारिंदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँले सफल गृहमन्त्रीको मानक स्थापित गर्नु भयो । 

कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किंदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टरको त्रासद् दुर्घटनामा पर्नु भयो । पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उहाँहरु दुर्घटनाबाट बच्न सफल हुनु भयो।

पार्टी प्रमुखको रुपमा नरहे पनि पार्टीको वैचारिक मार्ग पहिल्याउने अग्रणी नेताका रुपमा ओलीमाथि नै कार्यकर्ताको भरोसा रहने गर्दथ्यो भन्ने तथ्य २०५४ माघमा भएको नेकपा (एमाले)को छैठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको कार्यनीतिक प्रस्तावले प्रमाणित गर्दछ । नेपालगञ्जमा भएको महाधिवेशनमा ओलीले प्रस्तुत गर्नु भएको ‘शक्ति सञ्चय’को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो ।

महाधिवेशनबाट ओली पार्टी स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखमा चुनिनु भयो । जनकपुरमा २०५९ सालमा भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रिकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गर्नु भयो । तर, महाधिवेशनले उक्त प्रस्ताव अर्काे महाधिवेशनसम्मका लागि भन्दै स्थगित ग¥यो । जुन प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनले पारित ग¥यो । उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनु भयो ।

मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित ग¥यो । त्यस परिघटनाले उहाँलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रुपमा नेकपा (एमाले)को कार्यकर्ता पंक्तिले अनुभूत गरेको पाइन्छ ।

उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदवा र त्यसभित्र निहीत दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझ्नु भएको कुरा नेपालको सिंगो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो । त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्रै नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिंडाउन सक्ने नेताका रुपमा स्थापित भयो ।   

२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनु भएका ओली संसद्मा संसदीय दलको उपनेतामा निर्वाचित हुनु भयो । २०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बन्नु भयो । ओली २०५७ देखि हालसम्मै अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको पनि अध्यक्ष हुनुहुन्छ । 

२०७० मंसीरमा झापा– ७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएका ओली त्यसलगत्तै माघमा भएको संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनु भयो ।

२०७१ साउनमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नु भएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित हुनु भयो । तत्कालीन राजनीति तदर्थता र निर्णयहीनताको गोलचक्करको शिकार हुने गरेकोप्रति समाजमा चरम निराशा थियो । ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो ।

नवौं राष्ट्रिय महाधिवेशन पछिको राजनीतिक स्थिति र पार्टीको भूमिकाबारे ओलीले भन्नु भएको छ– ‘हामीले नवौं महाधिवेशनयता पार्टीलाई स्पस्ट वैचारिक दिशातर्फ अगाडि बढायौं । के हो नेकपा एमाले ? के हो यसको नीति ? कता जाने हो ? यसको रंग के हो ? कतिले यसको लिङ्गका बारेमा प्रश्न उठाए, अनेक प्रकारका दुर्वाच्यहरु बोले । वास्तवमा परिस्थिति पनि वैचारिक हिसाबमै अन्योलग्रस्त थियो । त्यस स्थितिबाट हामीले पार्टीलाई अरु एक्लैले हामीसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पु¥याएका छौं ।’ 

पार्टीको आन्तरिक राजनीतिमा ओलीको निर्णायक हैसियतमा बृद्धि भएसँगै २०७२ असोज २४ गते उहाँ पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनु भयो ।

ओलीको पहिलो प्रधानमन्त्रित्व काल सुरु भएका बेला नेपाल आफैंले संविधानसभा मार्फत् संविधान जारी गरेकोमा असन्तुष्ट रहेको बाह्य पक्षले नेपालमाथि ७ महीनासम्म नाकाबन्दी लगाएको थियो । त्यसलाई नेपालको हित प्रतिकूल नहुनेगरी तोड्ने कामको नेतृत्व ओलीले गर्नु भयो । उहाँले उत्तरी छिमेकी देश चीनसँग पारवन सन्धि गरेर भुपरिवेष्ठित स्थितिबाट भूजडित हैसियतमा पु¥याउने ऐतिहासिक काम गर्नु भएपछि इतिहासदेखि पटक पटक लाग्दै आएको नाकाबन्दी आउने दिनमा कहिल्यै लाग्न नसक्ने स्थितिको सिर्जना भयो । यस भूमिकाले इतिहासमा नेपालको भूराजनीतिक उचाइ बढाउने प्रधानमन्त्रीको रुपमा ओलीको नयाँ छवि निर्माण भयो ।

‘भुगोलको आधारमा देश सानो वा ठूलो हुन सक्छ, तर हरेक देशको सार्वभौमसत्ता समान हुन्छ’ भन्ने उहाँका यी भनाइ पछिल्ला कदमहरुले पुष्टि गरे । ओलीको सरकारले देशको सीमा रक्षामा अवलम्बन गरेका नीतिले उहाँले भूराजनीतिक प्रहार पनि खेप्नु प¥यो । राष्ट्रको हित, लोकतन्त्रको अवलम्वन र सामाजिक परिवर्तनमा ओलीले चालेका कदम र अडानहरुमा उहाँको छवि प्रतिविम्वित हुन पुग्यो ।

राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ । नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता’ भनेझैं अध्यक्ष ओलीले भन्नु भएको छ– ‘हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।’ 

नेपालले पटक पटक भोग्दै आएको नाकाबन्दी देशको स्वाभिमान, स्वतन्त्रता र आत्मनिर्भरताका लागि इतिहासदेखिको पीडादायी उपक्रम थियो । ओलीले उत्तरी छिमेकी चीनसँग पारवहन सन्धि गरी त्यस समस्याबाट मुक्त गर्दै नेपालको आत्मबल बढाउनु भयो । देशको भूराजनीतिक अवस्थितिलाई यसले नयाँ धरातलमा पु¥याएको तथ्य स्वीकार गर्न सबै पक्ष वाध्य छन् ।

तर, ओलीको यही भूमिका सरकारबाट हट्नु पर्ने नेपथ्य कारण बन्न पुग्यो । सरकारमा साझेदारी गरिरहेको नेकपा (माओवादी केन्द्र)ले आफू सम्मिलित ओली नेतृत्वको सरकारलाई ढाल्न अविश्वास प्रस्ताव राख्यो र २०७३ साउन ९ गते संसद्लाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भयो ।

राष्ट्रको हितमा ऐतिहासिक काम गरेकै कारण पहिलो पटक प्रधानमन्त्री बनेको नौ महीनामै हटाइनु भएका ओलीको त्यही लोकप्रियताको जगमा २०७४ सालमा भएको स्थानीय चुनाव तथा सोही वर्ष भएको आम निर्वाचनमा नेकपा (एमाले) धेरै ठूलो मत र सिटको अन्तरमा पहिलो दल बन्न पुग्यो । तर, सरकार सञ्चालन गर्न आवश्यक बहुमत अझै पनि नेकपा (एमाले)सँग थिएन ।

यही पृष्ठभूमिमा २०७४ सालको आम निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त हुनु भयो ।

दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताहरुका बीच भिन्नता रहेको तथ्य झण्डै तीन बर्षपछि भएको पार्टी विभाजनले पुष्टि ग¥यो ।

यसबारे ओलीले भन्नु भएको छ– ‘हामीले पार्टी एकीकरण नगर्ने हो भने तत्काल सरकार ढाल्ने र फेरि देश अन्धकारतर्फ जाने स्थिति थियो । हामीले हाम्रा नीतिहरुको कार्यान्वयन गरेर सबल नीतिहरुको सहिपना प्रमाणित गर्न पनि नपाउने र देश विकासको हाम्रो क्षमता पनि हामीले प्रकट गर्न नपाउने स्थिति बन्थ्यो । त्यस स्थितिबाट जोगिएर देशलाई अगाडि बढाउन हामीले पार्टी एकीकरण गर्नु, एकता गर्नु, कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनु र अगाडि बढ्नु आवश्यक थियो । हामीले त्यसै ग¥यौं, तर...’

यस पछिको ‘तर’ले नेपालको राजनीतिक वर्तमानलाई घिनलाग्दो अवस्थामा पु¥याएको छ र देशको भविष्यलाई अनिश्चित बनाएको छ । पार्टी विभाजन गराउने, सरकार ढाल्ने र गन्तव्यहीन गठबन्धन बनाएर राज्य दोहन गर्ने सिलसिला अघि बढ्यो ।

पुनरुत्थान, पुनर्थालनी र पुनर्जागरण

पछिल्लो शताब्दीको नेपाली राजनीतिक चक्र लोकतान्त्रिक व्यवस्था प्राप्ति र प्रतिगमनका आरोह अवरोहमा वितेका थिए । संविधानसभाले पहिलो पटक संविधान बनाएपछि ओलीले नेपालको सामाजिक राजनीतिक चिन्तनको वहावलाई अर्थतन्त्रको सुदृढिकरण, पूर्वाधारको विकास, संस्कृतिको पुनरुत्थान र पुनर्थालनीमा अभिमूख गर्न थाल्नु भयो । नेपालको आत्मनिर्भरता र सक्षमतासँग विमति राख्नेहरुका लागि यो खुसीको विषय थिएन, त्यसैले ओलीमाथि प्रहार पनि उत्तिकै भयो ।

प्रणालीमा स्थिरता कायम गर्ने, जनतामा जागरण र आशा जगाउने, सामाजिक पूर्वाधार, भौतिक पूर्वाधार र आर्थिक विकासको नयाँ रंङ्गसेचन गरेर नयाँ युगको थालनी गर्ने र त्यसले जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ भाष्य ओलीले तयार गर्नु भएको थियो– समृद्ध नेपाल, सुखी नेपाली । 

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूर्णतामा पु¥याउने नीतिगत आधार, तदनुसारका योजना, कार्यक्रम र तिनको कार्यान्वयनका आधारहरु समेत तय भए । ओली नेतृत्वको सरकारले तीन वर्षे अवधिमा त्यसलाई कयौं अवरोधबीच कार्यान्वयनमा अघि बढाएको थियो । हरेक पालिकाहरुमा आधारभूत अस्पताल निर्माणको थालनी होस् वा हरेक निर्वाचन क्षेत्रलाई जोड्ने कृषि सडकका कार्यक्रमहरु– ती त्यसै तर्फका पाइला थिए ।

ओली सरकारले तय गरेको दिशा र त्यसतर्फको तदारुकता मापन गर्न तराई मधेसका बासिन्दाले एउटा दृष्टान्त दिने गरेका छन्– देशमा सधैं सरकारहरु थिए, प्रधानमन्त्री पनि थिए, प्राकृतिक विपत्ति पनि हरेक वर्ष आउँछ । तर बारा पर्सामा एक रातमा आएको टोर्नाडो (हुरी)ले घरबार गुमाएका ८ सय ७९ परिवारलाई पाँच महिनामै पक्की घर बनाएर दिने तत्परता देखाएको सरकार चाहिँ ओली सरकार नै हो ।’    

प्रधानमन्त्रीको रुपमा ओलीको दोस्रो कार्याकाललाई देश निर्माणको पुनर्थालनीको शिलान्यास भन्न सकिन्छ । चीन र भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग, पूर्व–पश्चिम रेल्वे, विभिन्न ठाउँमा सुरुङ मार्ग, राजमार्गहरुको विस्तार, मध्यपहाडी लोकमार्ग निर्माण, सुनकोशी मरिन डाइभर्सन लगायतका सिंचाइ आयोजना, र फलाम खानीको निर्माण थालनी राष्ट्र निर्माणको पुनर्थालनी तर्फका पाइला थिए ।  

नागरिकहरुको आत्मविश्वासले मात्र देशमा परिवर्तन ल्याउन सकिने ओलीको विश्वास देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसैका लागि अघि सारिएका थिए । कृषि स्वरोजगारमा संलग्न युवा उद्यमीहरुसँग प्रत्यक्ष सार्वजनिक संवाद गरी उत्प्रेरणा जगाउने काम उहाँले निरन्तर गरिरहनु भएको छ ।

‘देशको प्रधानमन्त्रीले विना जानकारी अचानक फोन गरेर मेरो कृषि उद्योगका बारेमा सोध्दा म अचम्मित भएँ’ वैदेशिक रोजगारीबाट फर्केर गुल्मीमा बहुमूल्य अगरउड र श्रीखण्ड उत्पानमा सक्रिय किसान दिलिप भण्डारीले भन्नु भयो, ‘कति नेता प्रधानमन्त्री भए, कति नेता मन्त्री भए, तर केपी ओलीजस्तो उत्पादन र आर्थिक विकासमा आधारभूत तहमै पुगेर बुझ्ने, चासो लिने र प्रेरणा दिने प्रधानमन्त्री र नेता मैले देखेको छैन ।’ 

केपी शर्मा ओलीले आफ्नो सरकारलाई कृषिलाई उद्योगका रुपमा विकास गर्ने र त्यसलाई रोजगारी सिर्जना गर्ने तर्फ लक्षित गर्नु भयो । सातवटै प्रदेशहरुमा औद्योगिक ग्राम निर्माण गर्न उहाँले देखाउनु भएको अग्रसरताले यसलाई संकेत गर्छ ।

ओलीको निरन्तरको प्रयासले उहाँ नेतृत्वको सरकारले भूकम्प पछिको पुनर्निर्माणको कामलाई सम्पन्न ग¥यो । त्यस बीचमा ७ लाख ५० हजार नागरिकका निजी आवास, ५८९ सांस्कृतिक सम्पदा निर्माण, ७ हजार ५५३ विद्यालय, ७५१ स्वास्थ्य संस्थाहरु निर्माण सम्पन्न भए । ५७४ सरकार भवन र २१६ सुरक्षा निकायका भवन पुनिर्माण भए ।

ओलीले नेपालको भू–अवस्थितिलाई विश्वको ध्यान तान्ने विशेषताका रुपमा प्रस्तुत गरेर यहाँको सांस्कृतिक पुनरुत्थानमा ध्यान दिएको अनुभूत गराउने गर्नु भएको छ । यहाँको सभ्यता, प्राकृतिक सम्पन्नता, यहाँको प्राचीन ज्ञान परम्परा र औषधियुक्त वनस्पतीका विविधतालाई आफ्ना अभिव्यक्ति मार्फत निरन्तर प्रवद्र्धन गर्ने गर्नु भएको छ ।

‘हाम्रा हिमालहरुले कुलिङ सेन्टरका रुपमा काम गर्दछन् र हिमालमाथि हिउँ थुपारेर तिनले रिचार्ज सिस्टमको एउटा असाधारण प्राकृतिक प्रक्रिया पूरा गर्छन् । रिचार्ज सिस्टमले चट्टानहरुमा पानी सङ्गालेर विस्तारै हिँउ पगालेर झरनाहरु बनाउने, पहाडमा मूलहरु फुटाउने गरेका छन्’ उहाँले भन्नु भएको छ, ‘हामीले विश्व वातावरणमा यसको महत्व दुनियाँलाई बताउनु पर्छ । हामी वातावरणीय प्रश्नमा र गरिबी निवारणका लागि सबैसँग सहकार्य गर्न चाहन्छौँ । गरिबी र पछौटेपन आज मानव जातिको साझा समस्या छ । त्यसको निवारणका लागि सहकार्य गर्दै संयुक्त रुपमा अगाडि बढ्ने कुरामा हामी विश्वसँग सँगै काम गर्न चाहन्छौं ।’   

महिला र किशोरीमाथि हुने यौन हिंसा, तेजाव आक्रमणजस्ता अपराधिलाई कारवाही गर्ने र पीडितहरुको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न उहाँले सरकारमा रहंदा प्रभावकारी कदम चाल्नु भयो । तेजाव आक्रमण लगायत महिला हिंसा बिरुद्धका कानुन अध्यादेश मार्फत जारी गराउनु भएको थियो । उहाँलाई प्रधानमन्त्रीबाट हटाएपछि यस्ता कानुनहरु अलपत्र पारिएका थिए ।

राजनीतिलाई अधिकार प्राप्तिको संघर्षको चरणबाट राष्ट्रको विकास, पुनरुत्थान र पुनर्थालनीको दिशातर्फ आफूलाई केन्द्रित गर्दा उहाँले देशका राजनीतिक शक्तिहरुबीच एकता र सहयोगात्मक अपेक्षा राख्नु भयो । तर, शक्तिको अभ्यास सत्ता निर्माण र विघटनमा प्रयोग गर्ने परम्परागत राजनीतिक वृत्त त्यसका लागि अनुकूल हुन सकेन ।  

ओलीले त्यस क्रममा घोषणा गर्नु भएको थियो– ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकांक्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौं । देश भित्रका विभिन्न शक्तिहरु– जो सही ढंगले लोकतन्त्रको पक्षमा, राष्ट्रियताको पक्षमा, सुशासनको पक्षमा, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन्, जो समृद्धिका निम्ति काम गर्न चाहन्छन्, जो सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव बृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन्, ती सबै शक्तिहरु र व्यक्तिहरुसँग पनि हामी मिलेर काम गर्न चाहन्छौं ।’

K P Sharma Oli: Time line

Born in Terhathum District, Eastern Nepal; as the eldest son of father Mohan Prasad and Mother Madhumaya Oli

२००८ फागुन ११

झापामा बसाई सराइ

२०२०

मार्क्सवादी अध्ययन दलमा संगठित

२०२३

पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा सलग्न

२०२५

नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त । झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।

२०२६ माघ

पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु ।

२०२७ जेठ ९

झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।

२०२८

राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ ।

२०३० असोज २३

जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी)को संस्थापक नेताको हैसियत प्राप्त ।

२०३५ पुस ११

जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले)को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन । लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन ।

२०४४ असार ११

पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष ।

२०४७ जेठ १

नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी)बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।

२०४७ पुस २२

बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित

२०४८

केन्द्रीय विदेश विभागको प्रमुखको जिम्मेवारी वहन

२०४९

केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोलिटव्युरो सदस्य निर्वाचित

२०५०

मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित ।

२०५१

मंसिर १४ गते कम्युनिष्ट पार्टीका प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको गृहमन्त्री नियुक्त।

२०५१-२०५२

पार्टी संसदीय विभागको प्रमुख

२०५१

पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान ।

२०५४ माघ

झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित

२०५६

संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता

२०५६–२०५९

आफ्रो-एशियन पिपुल्स सोलिडारिटी अर्गनाइजेसन (एएपिएसओ)-नेपाल का अध्यक्ष

२०५७ देखि हलसम्म

पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।

२०५९ माघ

गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनर्स्थास्पित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त ।

बैशाख २०६३ – चैत्र २०६३

पहिलो संविधानसभाको निर्वाचनमा पराजित

२०६४

केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख

२०६५-६६

आठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित ।

२०६५ पागुन

झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित

२०७० मंसीर

तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ।

२०७० माघ २१

नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ट नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।

२०७१ साउन १

व्यवस्थापिक संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते सपथ ग्रहण ।

२०७२ असोज २४

व्यवस्थापिका–संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।

२०७३ साउन ९

औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहालाई सत्ता हस्तान्तरण ।

२०७३ साउन २०

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१औँ प्रधानमन्त्रीको रूपमा सपथ ।

२०७४ फागुन ३