NP EN

राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल हो: प्रधानमन्त्री ओली

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल भएको बताउनुभएको छ । 

शुक्रवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा निर्णय गर्ने भन्दै राष्ट्रपतिमाथिको आक्रोश अनुचित भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो गणतन्त्र विरुद्धको खेल हो, गणतन्त्रको प्रतिक हो राष्ट्रपति, राजतन्त्रको प्रतिक हो राजा ।’

उहाँले  नयाँ सरकार बनाएर अन्योल अवस्थाको अन्त्य गर्न राजनीतिक दललाई आग्रह गर्नुभयो । ओलीले विपक्षी दलले नयाँ सरकार दिन नसके आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई संसदमा विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्यूह बनाइएको बताउनुभयो । प्रधानमन्त्री ओलीले बिहीवार मन्त्रिपरिषद्ले गरेको सिफारिस सही भएको बताउनुभयो । ‘संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनका लागि मार्गप्रशस्त गरेर आह्वान गरियोस् र अर्को सरकार बनोस् भन्ने अभिप्रायका साथ सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बाटो खोलिदिएको सिफारिस गरेको कुरा सर्वविदितै छ,’ उहाँले भन्नुभयो, ‘त्यो कुरा बाहिर आएपछि बहुतै कृत्रिम, नाटकीय व्याख्याहरू हुने गरेको पाइयो । मानिलिउँ यो असाध्यै नयाँ कुरा अचानक आइपुग्यो जस्तो । यदि यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैन्थ्यो भन्ने स्पष्ट छ, फेरि जाने संविधानको उपधारा (५) कै प्रक्रियामा हो ।’

यतिबेला बजेट ल्याउने चाप भएकाले विश्वासको मत लिने पर्याप्त समय नभएको समेत ओलीले बताउनुभयो । ‘जेठ १५ गते संविधानले नै तोकको छ, बजेट प्रस्तुत गर्नुपर्छ । त्योभन्दा अगाडि नीति कार्यक्रम पेश गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विश्वासको मत लिने कर्मकाण्ड गरेर फेरि पराजित भएर (५) मा गइरहने समयको सुविधा हामीलाई छैन । (५) मै जानुपर्ने भइसकेपछि मार्गप्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु, समयको चाप र परिस्थितिको हिसाबले उचित मात्रै होइन, अपरिहार्य र अत्यावश्यक भइसक्यो । अर्को सरकार बनोस्, वैकल्पिक सरकार बनोस् भनेर हो, सरकार जोगाउन कब्जा गर्न खोजिएको छैन ।’

सम्बन्धित