२० पुस (२०८१), सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तिब्रता दिन सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताउनुभयो ।
उहाँले उक्त सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भन्नुभयो– यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुबै सरकारको हुनेछ । सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन ।
सोलुखुम्बु साहसिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात साहसिक व्यक्तिहरूको जन्मभूमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवद्र्धन गर्न ठुलो सहयोग पुर्याउनेछ ।
प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो भन्नुहुँदै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको बताउनुभयो ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उहाँको भनाइ छ । सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ ।
यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।