NP EN

पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ: प्रधानमन्त्री

कञ्चनपुर, १० फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएको छ । बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउनुभयो । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उहाँको भनाइ थियो ।

“देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ”, उहाँले भन्नुभयो, “समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।” आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उहाँले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गर्नुभयो ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उहाँले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताउनुभयो । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उहाँले जनाउनुभयो ।

उहाँले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ ।  म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।” प्रम ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।  (रासस)











 

सम्बन्धित