NP EN

सद्भाव र समानतामा आधारित एकताले देशको रक्षा गर्ने ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताउनु भयो । विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाईसम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय बसोवासको देश भएकाले समानता र सद्भावमा आधारित राष्ट्रिय एकता सुदृढ हुनु पर्ने वताउनु भएको हो ।    ‘हाम्रो देशमा विविधता छ, यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडि बढ्छ’ अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने समेत वताउनु भयो ।  ‘ यदि कुनै पनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन’ उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने र त्यसले देशमा समस्या खडा गर्नु नहुने बताए । ‘पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हितका लागि पहिचान हो,’ उहाँले भन्नुभयो,  ‘देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा होइन । ‘ उहाँले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताउनु भयो । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उहाँको भनाइ छ । उहाँको कथन थियो–  ‘हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो ।’

अध्यक्ष ओलीले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरुको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताउनु भयो । प्रदेशहरुको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उहाँको भनाइ थियो ।

‘हाम्रा प्रदेशका नामहरु पनि हामीले साझा, भूगोलमा आधारित, नदीनालामा आधारित । गण्डकी, कर्णाली, कोशी प्रदेश, वागमती प्रदेश खोलाको नामबाट राखेका छौँ । सुदूरपश्चिम साझा भुगोलका नाममा राखेका छौँ । मधेस प्रदेश साझा भूगोलका नाममा राखिएको छ,’ उहाँले भन्नु भयो,  ‘लुम्बिनी प्रदेश साझा भूगोलकै नाममा, भूगोलबाट चिनिएको, संस्कृतिसँग जोडेर राखेका छौँ । जो साझा नाम हो । यसमा हामी कुनै, कसैलाई अपमान गर्ने, थिचोमिचो गर्ने, हेप्ने, होच्याउने भन्ने प्रश्न नै उठ्दैन ।’

सम्बन्धित