NP EN

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो । 

‘राणा कालको अन्धकार अवस्थाबाट निस्किनासाथ २००८ सालको नगरपालिका निर्वाचन मै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाए’ उहाँले उल्लेख गर्नुभयो ।  

नेपालले यसरी चुन्ने र चुनिने अधिकार महिलालाई दिँदा कतिपय विकसित मुलुकहरुमा नै महिलाको मताधिकार कुरा मात्रै पनि बहसमै सिमित रहेको समेत उहाँले उल्लेख गर्नुभयो । विश्वको वामपन्थी आन्दोलनले महिला समानतालाई सुव्यवस्थित र संगठित रुपमा उठाएको चर्चा गर्दै  आइएलओ अभिसन्धी तथा संयुक्त राष्ट्रसंघका बडापत्रमा उल्लेखित महिला अधिकारका पक्ष सोही आन्दोलनको देन भएको पनि उहाँले बताउनुभयो ।

देशमा राजनीतिक आन्दोलनको विकाससँग सामाजिक न्याय र समानताको आन्दोलनपछि सँगै उठेको पनि प्रधानमन्त्रीले बताउनुभयो । २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनको आलोकमा पहिले पाँच प्रतिशत, त्यसपछि २० प्रतिशत हुँदै अहिले ४१ प्रतिशतसम्म महिला निर्वाचित भएको पनि उहाँले बताउनुभयो । 

सम्बोधनका क्रममा प्रंधानमन्त्रीले वर्तमान सरकार महिलामाथि हुने हरेक हिंसाविरूद्ध दृढता  कार्य गरिरहेको  र महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने समेत बताउनुभयो । अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, अपमान, गालीबेइज्जती, कूप्रथा र कूचलनविरूद्धको संघर्षलाई जारी राख्नुपर्ने भनाई उहाँको थियो । महिला अपमानलाई बहादुरी ठान्ने प्रवृत्ति अनपढमा मात्र होइन पढेलेखेकैहरुमा समेत देखिनु समाजका लागि हानिकारक रहेको उहाँले बताउनुभयो । ‘आफु पढेलेखेको हुँ भन्ने, भात होइन पिज्जा खानेहरुबाट यस्ता काम भइरहेका छन्, उहाँको भनाई थियो ।

‘हाम्रा आमा दिदी बहिनीहरूलाई बोक्सीको आरोप लगाउने जस्तो भ्रम र अन्धविश्वास छ, जानीजानी, स्वार्थ, अहंकार र पछौटेपन जे भए पनि त्यो अस्वीकार्य मात्र होइन क्षम्यसमेत हुन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो । सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कडा कानुन निर्माण गरेर महिला हिंसा विरुद्ध कार्य गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।  

महिला हिंसाका कतिपय घटनामा महिलानै संलग्न देखिनु दुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले आफ्ना कारण अर्को महिलामाथि हिंसा नहोस् भन्ने तर्फ ध्यान दिनुपर्ने समेत बताउनुभयो  । साथै उहाँले महिलाको अधिकार प्राप्तिको संघर्षलाई पुरुषहरुले समेत सघाउनुपर्ने विचार समेत राख्नुभयो ।

  

सम्बन्धित