NP EN

​नेकपा एमाले जस्केलाबाट सत्ता प्राप्ति गर्ने पक्षमा छैन - प्रधानमन्त्री

काठमाडौँ, ३० चैत: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्केलाबाट सत्ता प्राप्ति गर्ने पक्षमा नरहेको बताउँदै संसदीय प्रक्रिया अपनाएर सरकार फेर्न विपक्षीहरुलाई चुनौति दिनुभएको छ । 

पार्टीनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको वृहत राष्ट्रिय भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

माधव नेपाल र प्रचण्डले सबैसँग मिल्ने तर नेकपा एमालेसँग नमिल्ने नीति लिएर हिँडेको पनि प्रधानमन्त्रीले बताउनुभयो । कुखुरा जस्तै फरक रंगका भए पनि सबै विपक्षीको एउटै उद्देश्य नेकपा एमाले विरुद्ध रहेको पनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले प्रचण्डले विगतमा जनतालाई अनन्त पीडाको भारी बोकाएर अहिले पनि जनता अलमल्याउन खोजीरहेको समेत बताउनुभयो  । ‘मैले आफ्नालाई छोडेर गल्ती गरेछु भन्न थालिएको छ । दुई तिहाईको आफ्नै सरकारलाई ढालेर कांग्रेसकहाँ बिन्तीपत्र लिएर जाँदा आफ्ना छोडियो की छोडिएन ? अन्त गइयो कि गइएन ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।   

यसका साथै प्रधानमन्त्री ओलीले पार्टीकै नाममा समानान्तर गतिविधि जारी रहेको उल्लेख गर्दै निश्चित सीमासम्म मात्र सहन गर्न सकिने बताउनुभयो । त्यसपछि पनि पार्टीमाथि धावा बोल्ने क्रम नरोकेमा ठीक लगाउने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

माधव नेपाल अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्ने र कतिपयलाई  चुनावमा टिकट पक्का भन्दै हिडनुभएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘माधव नेपालले बसपार्कमा जस्तै टिकट त बाँडनुहोला, तर सांसद बनाउनु एक जनालाई पनि सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने ?’, प्रधानमन्त्रीको भनाई थियो ।  

आफूलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने माधव नेपाल पक्षलाई  अहिले पनि सदस्य कायमै राखेर पार्टीमा फर्किने अवसर दिएको बताउँदै उहाँले समूहको रुपमा भने कुनै व्यवहार नगर्ने बताउनुभयो । ‘कहिले काहीँ किर्नाले भैंसी पनि खान्छ । यिनीहरुले हामीलाई गरेको कारवाही त्यस्तै हो । किर्नाले भैंसी खाए जस्तै । सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो । भैंसी खायो खायो, पेट पटुक्क भयो फुत्रुक्क खस्यो’ । 



विगत तीन वर्षमा सरकारले असाधारण ढंगले काम गरेको बताउँदै उहाँले विकास निर्माणका कामहरु व्यापक रुपमा भएको समेत उल्लेख गर्नुभयो । ‘हामी राष्ट्र निर्माणको एउटा  महाअभियानमा छौँ र यसलाई तलमाथि पर्न दिनुहुँदैन’, उहाँको भनाई थियो । 

आफूले पवित्र मनका साथ पार्टी एकीकरण गरे पनि माधव नेपाल र प्रचण्डले मीर जाफर र मीर काशिमको जस्त अन्तरघात गर्ने काम मात्र गरेको समेत बताउनुभयो । ‘यि तत्वहरु पार्टीमा छउन्जेल तीन वर्ष  काम त हामीले ग¥यौं, तर कसरी ग¥यौं भने हिँडन लाग्यो कि यताबाट खुट्टा तानेको छ उताबाट अर्को खुटा समातेको छ, अर्को तिरबाट दौराको फेर समातेको र अर्कोतिरबाट कोट गरेर हिँडनै नदिने’, उहाँले भन्नुभयो । आफूलाई मृगौला प्रत्यारोपण गरेपछिको बैठकमा कुर्सी पर सार्दिएको भन्दै किचकिच गरिएको गरिएको उदाहरण समेत प्रधानमन्त्रीले दिनुभयो । 

कम्युनिष्ट आन्दोलनले सँधै असमानता र भेदभाव अन्त्य गर्न आवाज उठाएका र जात, वर्ग, लैंगिक लगायतका कुनै पनि आधारमा गरिने भेदभाव सहन नसकिने भनाइ पनि प्रधानमन्त्रीको थियो । कार्यक्रममा उहाँले सामाजिक विभेद विरुद्ध जनचेतना जगाउन उल्लेख्य रुपमा योगदानबापत नेता एवं साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मानसमेत गर्नुभएको थियो । 

सम्बन्धित