NP EN

पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३ चैत: प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । 

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज  आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो । 

“एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन÷नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।”

पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहँु खोजिरहेको उहाँले बताउनुभयो । 

पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राख्नुभयो । “पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन”, उहाँले भन्नुभयो, “पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले एमालेमा रहेका नेता तथा कार्यकतालाई अन्याय नगर्नेसमेत बताउनुभयो । “पार्टीमा कसैमाथि पनि अन्याय हँुदैन । ठूला ठूला अपराध भएका छन् तर पनि एउटा फराकिलो हृदय लिएका छौँ”, उहाँले भन्नुभयो, “एकदम अपराध गर्नेलाई पनि स्वागत छ भनेर म भन्दिनँ । तर सच्चिएर आउनेलाई पार्टीमा काम गर्नका लागि स्वीकार र्छौं ।”

उहाँले संसद् देश र जनताको हितमा काम गर्ने थलोका रुपमा भए पनि काम गर्न नपाएको धारणा राख्नुभयो । “संसद्लाई स्वार्थको खिचातानीको थलो होइन, दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाऔँ”, उहाँले भन्नुभयो, “तर  संसद्लाई त्यसरी चलाइएको र चलाउन दिइएको छैन ।” चियापानमा एमालेका केन्द्रीय सदस्य तथा सांसद उपस्थित भएका थिए । चियापानमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी भएन ।

सम्बन्धित