NP EN

’देश अब शान्तिपूर्ण राजनीतिको युगमा’ - प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण राजनीतिको युगमा प्रवेश गरेको बताउनु भएको छ । 

शुक्रबार राजधानीमा आयोजित नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीबीच सम्पन्न सम्झौतामा हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा हिंसात्मक राजनीतिक कार्यदिशाको अन्त्य भएको समेत बताउनुभयो  । 

प्रधानमन्त्री ओलीले नेपाली जनताका उत्कट चाहनाहरु मध्येको एक शान्तिपूर्ण जीवनयापन गर्नेसमेत रहेको बताउँदै त्यसतर्फ महत्वपूर्ण कदमका लागि विप्लवलाई बधाई ज्ञापन पनि गर्नुभयो । 

विप्लवले एकै कदमबाट धेरै जनताको  जितेको पनि प्रधानमन्त्रीले बताउनुभयो । र, यो कदम एक साहसिक कदम भएको बताउँदै प्रधानमन्त्री ओलीले एउटा कार्यदिशा लिएर हिँडेको पार्टीलाई जो कोहीले यसरी मोडन नसक्ने र कतिपय व्यक्ति त्यसमा असफल हुने गरेको समेत प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘बहुतै राम्रो ढंगले उहाँले यो काम गर्नुभएको छ । यो फोर्स ल्याण्डिङ पनि होइन र क्र्यास ल्याण्डिङ पनि होइन, यो सेफ ल्याण्डिङ हो’ । उहाँको भनाई थियो । 

प्रधानमन्त्रीले यो सफलता कतै टिप्पणी गरिए जस्तो रातारात नभई वर्षौैं गरिएको मेहेनतको प्रतिफल भएको समेत बताउनुभयो । ‘हामीले वार्ता गर्दा नगरा बजाएनौ बरु गम्भिरढंगले सार्थक वार्ता ग¥यौं’, प्रधानमन्त्रीको भनाई थियो । यो मेहेनत करिब १० वर्ष अघिदेखि नै आफू र विप्लवबीच भएको गम्भिर वार्ताबाटै सुरु भएको पनि उहाँले बताउनु । 

सरकार र विप्लव समूहबीच भएका धेरै छलफल र वार्ताको निश्कर्ष मात्र तीन बुँदामा समेटिएको पनि उहाँले बताउनुभयो । ‘कुनै समस्या आइपरे छलफल र वार्ताबाटै टुंग्याउने छौं, कुस्ती खेल्दैनौ’। साथै विप्लव नेतृत्वको पार्टीले शान्तिपूर्ण गतिविधि गर्ने र बन्दीहरु छुट्दै जाने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

गत वर्ष सिके राउतलाई राजनीतिक मूलधारमा ल्याइएको र अहिले विप्लव समूह सोही मूलधारमा आएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो  । 

छुट्टा छुटै तरिका भए पनि सरकार र विप्लव समूहको दलको एउटै उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली नै रहेको पनि उहाँले उल्लेख गर्नुभयो । यस्तो कुरा पुर्वजहरुले पहिले नै भनेको भए पनि ति सपनाहरु पुरागर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । 

विभिन्न शैलीको आन्दोलन र अनुभव भए पनि लक्ष्य एउटै भएको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘मैले पनि ५० वर्ष अघि उहाँहरुको जस्तै जस्तै आन्दोलन गरेको थिएँ र मेरो पार्टीले विधिवत रुपमा चालिस वर्ष अघि एउटा निर्णयबाट शान्तिपूर्ण राजनीतिको बाटो तर्फ लागेको थियौं । हामीले ३० वर्षअघि त्यो निर्णय गरेका थियौं तर त्यसमा बानी पार्न अरु सात वर्ष लागे’, उहाँले भन्नुभयो । 

वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले कसैलाई पनि किस्तीमा प्रधानमन्त्री पद सुम्पन नजाने बताउनुभयो । केही मानिस आफ्नो दुई तिहाई बहुमतको सरकार ढालेर कसैलाई प्रधानमन्त्री लिइदिनुस् न भन्दै हिँडेका छन्‘, उहाँको भनाई थियो । 

यसका साथै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द विप्लवको आगामी राजनीतिक यात्रा सफल रहने विश्वास समेत व्यक्त गर्नुभयो । ‘मलाई विश्वास छ राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ ।’ 





कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरु राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायका पक्षमा दृढतापुर्वक उभिने बताउनुभयो । ‘हामी कसैलाई चिड्याएर वा कसैको भाग खोसेर होइन श्रमजीवी जनताको बलमा उभिएर देश बनाउन चाहन्छौं’, उहाँको भनाई थियो । 

यसका साथै विप्लवले कम्युनिष्टहरु विद्रोहका वाहक मात्र नभई शान्तिका दुतसमेत भएको उहाँले बताउनुभयो । 

आफूहरु सहकार्यका लागि तयार भएको बताउँदै विप्लवले बाहिरी हस्तक्षेप कुनै पनि हालतमा हुन नदिने समेत उहाँले बताउनुभयो । 

वार्ता टोली सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. राजन भट्टराईले झण्डै एक वर्षदेखि प््रत्यक्ष एवं परोक्ष संवादको प्रतिफल स्वरुप सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच अहिलेको सहमति भएको जानकारी दिनुभयो । यस अघि प्रधानमन्त्री ओलीसँग महासविचव विप्लवले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो ।





 

सम्बन्धित