NP EN

नेकपाले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभालाई सम्बोधन

लुम्बिनी, १ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उहाँको भनाइ छ । “पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ”, उहाँले भन्नुभयो । नेकपा प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको र केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गर्नुभयो ।

पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गर्नुभयो । “तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ ।” प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पार्नुभयो ।

पार्र्टीमा देश बनाउने उद्देश्यमा सहमत हुन नसक्ने तत्व पार्टी छाडेर सडकमा पुगेको बताउँदै उहाँले ताजा जनादेशका लागि जनतामा जानु प्रतिमगन हो भने तपाइँले कस्तो व्यवस्था खोजेको हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने कुरा छैन तर, प्रधानमन्त्री बन्नुप¥यो, अर्कालाई पार्टी अध्यक्ष बन्न मन लाग्यो । मैले महाधिवेशनबाट अध्यक्ष चुन्ने प्रक्रियामा जाऊँभन्दा उधारो होइन, हाताहाती नगद चाहियो भन्ने ?”

तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गर्नुभयो । सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरिएर केही फरक नपर्ने तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देश बनाउन हिँडेका छौँ, त्यसैले जित्छौँ । १० वर्षसम्म प्रचण्डले झुक्याउनु भएको थियो । अब त्यो समय गयो, जनता अलमलिँदैनन् ।” सरकारलाई आलोचना गर्ने क्रममा विकास निर्माणका कामलाई नजरअन्दाज गर्ने काम भएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकास निर्माणमा उल्लेखनीय काम भएकाले प्रदेश र स्थानीय तहमा विकासको लहर सिर्जना भएको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माण, भैरहवा बुटवल हुँदै पोखरा जाने सिद्धार्थ राजमार्ग डबल लेन, कालीगण्डकी करिडोर निर्माणकोे प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो । यो भूभाग पुरानो सभ्यताको इतिहास भएको क्षेत्र रहेको चर्चा गर्दै उहाँले लुम्बिनी क्षेत्र रामापिथेकसको बङ्गारा भएको स्थान, कपिलमुनिको भूमि, धेरै ज्ञानी ध्यानी ऋषिमुनिकाे स्थलसमेत भएकाले लुम्बिनीको महत्व छुट्टै रहेको बताउनुभयो ।

उहाँले कोही पनि मानिस सडकमा अलपत्र नपरोस् भन्नका लागि सरकार नै अभिभावक हो भनेर गाँस, बास र कपासको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले २०७८ सालसम्म नेपाललाई सहयोगापेक्षी मानवमुक्त बनाउने तयारी गरिएको जानकारी दिनुभयो । सरकारले महिनाको १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले दिनको १०० पु¥याइएको र ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको स्वास्थ्य बीमा गरिदिएको जनाउँदै सामाजिक सुरक्षाको दायरा पनि बढ्दै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि नागरिकलाई उत्पादनसँग जोड्ने काम भइरहेको बताउँदै सरकारको लोकप्रियता बढ्ने डरले षड्यन्त्र गरिएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले सरकार चलाउन नदिई देश अस्थिरतातर्फ लैजाने खेल भएपछि विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो । “आफूलाई लोकप्रिय लागेको छ भने जनमतमा जानुपर्छ चुनावबाट तर्सिनु हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हिजोका दिनमा परिवर्तनका लागि भनेर शहीदको पंक्तीमा लाम लाग्न सिकाएकाले सत्तामा पुगेपछि जनयुद्धका घाइते र शहीद परिवारको बेवास्ता गरेको बताउनुभयो । “हिजो झुठा सपना बाँडेर कतिलाई शहीद, घाइते बनाए ती सबैलाई सरकारले सम्बोधन गर्छ । उनीहरूको उपचार र रोजगारीको व्यवस्था गर्छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्ने तत्व सक्रिय रहेको बताउँदै हत्या हिंसामा संलग्न अपराधीलाई पानी मुनि गए पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने भ्रष्टाचारी र अपराधीलाई कारवाही गर्ने बताउनुभयो ।  (रासस) 

सम्बन्धित