NP EN

सगरमाथाको उचाइसँगै देशको पनि उचाइ बढेको छ: प्रम

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको नयाँ उचाइका सम्बन्धमा दिनुभएको भिडियो सन्देश
२३ मंसिर २०७७


विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात् चोमोलोङ्मा, यसको उचाइ बढी विश्वसनीय, भरपर्दो र  यथार्थमा आधारित हुन सकोस् भनेर नेपाल र चीनले संयुक्त रुपमा मापन गरी आज नयाँ उचाइको तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । सगरमाथाको उचाइ ०.८६ मिटरले बृद्धि भएको छ  । हाम्रा हिमालहरु नयाँ हुन्, हिमाल बन्ने क्रम नयाँ हो र यिनको उचाइ क्रमशः बढ्दै जानु पनि स्वभाविक होे ।

यसै क्रममा आज सार्वजनिक भएको नयाँ उचाइको तथ्य उचाइ बढेर हुनसक्दछ वा विगतको उचाइको मापन उपयुक्त संयन्त्र, विधि र समुचित ढंगले मूल्याङ्कन हुन नसकेर हुनसक्छ । तर, आज जसरी होस्, उचाइ थप भएको अथवा बढी उचाइ भएको, पहिले भनिएको भन्दा बढी उचाइ भएको तथ्य सार्वजनिक भएको छ । यो खुशीको कुरा हो र हाम्रो देशको उचाइ पनि ०.८६ मिटरले माथि उठेको छ । कष्टसाध्य काम गरेर नयाँ उचाइको यो तथ्याङ्क निकालेकोमा म संयुक्त टोलीलाई धन्यवाद भन्न चाहन्छु ।

नेपाल–चीन दुवै देश र त्यसैगरी सिंगो विश्वलाई नै विश्वको शिखरहरु र शिखरहरुको सर्वोच्च शिखरको उचाइ तथ्यगत रुपमा प्राप्त भएकोमा र पहिलेभन्दा बढेको रुपमा पाइएकोमा बधाई भन्न चाहन्छु । 

हामीले हाम्रा कामहरुमार्फत र हाम्रा सफलताहरुमार्फत अब हाम्रो देश र सिंगोे मानवजातिको उचाइ पनि बढाउँदै लानु जरुरी छ । हाम्रा उपलब्धिहरु तथा हाम्रा प्राप्तिहरु अझ आधुनिक, अझ महान, अझ न्यायोचित, अझ मानवीय, अझ वातावरण मैत्री र अझ सन्तुलित हुनु जरुरी छ । जसले हामीलाई अझ महान बनाउँछ ।

मानव समाज शान्तिपूर्ण, मानवीय, विकसित, आधुनिक, सहयोगात्मक, सहिष्णु हुन सकोस् । त्यसले मानव जातिकोे उचाइ बढाउने छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकङ्क्षा सफलीभूत हुनुसँगै नेपालको उचाइ, सामाजिक उचाइ, साँस्कृतिक उचाइ, भौतिक र समृद्धिगत उचाइ, यी पक्षहरुको पनि उचाइ बढ्ने छ ।

म यस अवसरमा खुशी व्यक्त गर्न चाहन्छु र हामी उचाइकै बाटोतिर अग्रसर हौ भनी सबैमा हार्दिक आग्रह गर्न चाहन्छु ।

धन्यवाद !

सम्बन्धित