NP EN

​सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ, १३ भदौ: प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
 
सो क्रममा सभामुख सापकोटाले जोखिममा परेका बस्तीको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत ढाँचा बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित  रकम निकासालगायत विषय उल्लेख गर्नुभएको थियो । 
 
जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित काम यथाशीघ्र अघि बढाइने बताउनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । गत साउन ३० गतेको लिदी पहिराबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका– १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
 
यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सौर्यबत्ती, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामग्री हस्तान्तरण गर्नुभएको थियो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायत स्थानमा बाढी  र पहिरामा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।(रासस)

सम्बन्धित