NP EN

​समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रम ओली

काठमाडौं, २७ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताउनुभएको छ । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको उल्लेख गर्नुभएको छ । “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु  ।”

प्रधानमन्त्री ओलीले नेपालमा बहुभाषा,बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गर्नुभएको छ । “एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा समाजिक–साँस्कृतिक निधि मान्दै आएका छौं । यही साँस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सुत्रमा बाँधिएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्र्याइ नेपालीहरु बीचको एकता धुमिल्याउने प्रयास थिए । तर, हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौं । ”

प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकाल सहित मनाइने पर्वको रुपमा स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताउनुभएको छ । “ इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिबंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुबंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ । ”
 

सम्बन्धित