NP EN

नेपालको विकासका लागि अहिले उपयुक्त समय : प्रम ओली

काठमाडौं, २९ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताउनुभएको छ । 

राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गर्नुभएको छ । “विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले आफ्नो लागी भन्दा देशको स्वार्थलाई माथी राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।”

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताउनुभएको छ । “हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जनसंखिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं । ”



प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको उल्लेख गर्नुभएको छ । “देशको विकासका लागि म युवालाई,बालबालिकालाई,ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने,विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताउनुभयो । “उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने,मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसाग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ । ” 
 
 

सम्बन्धित