NP EN

क्वारेन्टाइनको उचित व्यवस्थापनपछि विषादी परीक्षण : प्रम ओली

काठमाडौं, २१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताउनुभएको छ । संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको स्पष्ट पार्नुभयो । “भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो,–  “मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारी बिना यस्तो भयो । त्यस कारण अलिकति समस्या प¥यो । हाललाई यसलाई छोड्नु प¥यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति ।”

प्रधानमन्त्री ओलीले सिमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताउनुभएको छ । “त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं । त्यतापट्टि सरकारको ध्यान छ । त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो । तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ । अलि बढी छिटो भयो ।”

प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताउनुभएको छ । “विषादीयूक्त चिज खानु हँुदैन । त्यो हामीले नै भनेको हो । अहिले जान्ने धेरै निस्किए । त्यो हामीले नै भन्यौं । अनि सबैको ध्यान गयो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो– “नेपाललाई हामी  अर्गानिक बनाउँन चाहन्छौं । खाने कुरा शुद्ध होस् । हाम्रो भान्सामा विष नपुगोस ।  त्यो  हाम्रो आकांक्षा हो ।  चाहना हो । र, यसलाई हामी पुरा गर्छौं ।”



संसदीय दलको बैठकमा भारतबाट आउने तरकारीमा भएको विषादी परीक्षणको  सम्बन्धमा  प्रधानमन्त्री ओलीको भनाइ जस्ताको त्यस्तै :

हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागु गर्नु प¥यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर ग¥यौं हालका निम्ति । जाँच्ने नै तपाईसँग छैन. भने जाँच्न पर्छ भनेर के गर्नु हुन्छ ? त्यो जाँच्ने हामी भर्खर स्थापना गर्दै छौं अनि, स्थापना हुदैँछन् जाँच केन्द्रहरु । 

त्यस कारण अहिले त्यो पर्याप्त अवस्था नभइकन, हामीले हाम्रो देश भित्र पनि अघि एक जना साथीले भन्नु भयो, बिषको सीमा हुदैन भित्रको भएपनि विष हो, बाहिरको भएपनि विष हो । विषादीयुक्त खानेकुरा खान हुदैन । जनतालाई खान दिन हुदैन तर विषादीयुक्त विक्री हाम्रा पनि भएका छन् भने हामीले त्यो जाँच्न सकिराखेको अवस्था छैन् । त्यो वास्तवमा के हो भने हामीले नसक्ने गरी, त्यो परीक्षण गर्न नसक्ने गरीको अवस्थामा भयो । तसर्थ यसमा हामी स्पस्ट हुन जरुरी छ । यहाँ निर हामीले केही झुकेर, दवामा परेर आदि, इत्यादी भन्ने कुरा होइन । 

त्यो भन्दा हामीले यो संयुक्त चेक पोष्टहरु राख्यौं, ति चेक पोष्टहरु एउटा चल्यो ।  विराटनगरमा सुरु हुदैछ । अरु बनिसकेको छैनन् । चालु नै छैनन् । यस्तो स्थितिमा जब संयुक्त चेक पोष्ट र जाँचका सामग्रीहरु त्यो अवस्था तयार भइसकेको छैन भने हाम्रो हतारो साथ अलिकति गरिएछ भन्ने कुरा हामीले ठान्नु प¥यो । त्यस कारण हतारो भएको कुरालाई महशुस गरेर नै मन्त्रालयले त्यो प्रस्तावहरु ल्याएर, त्यो प्रस्तावलाई क्वाविनेटले पास ग¥यो । इच्छा मात्र गरेर हुदैन कतिपय कुरा त्यो  । तर त्यो लागु भइहाल्ने स्थिति अलिक नभएको हो । 

 

सम्बन्धित