NP EN

​आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरौं : प्रम ओली

काठमाडौं, १४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभएको छ । वृक्षारोपण दिवसको अवसरमा आज कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै  प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोप्नु भएको छ । सरकारले यस बर्ष देखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ ।

प्रधानमन्त्री ओलीले  वृक्षारोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताउनुभएको छ । “हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो “अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ । ”



वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो” प्रधानमन्त्री ओलीले भन्नुभयो– “हाम्रा पुर्खाले विरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यबहारबाटै थाहा पाएर उनीहरुले विरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नु पर्दछ । ”




प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताउनुभयो । यस बर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 











 

सम्बन्धित