NP EN

प्रधानमन्त्री ओली भूमिगत रेलमार्ग हुँदै लण्डनबाट फ्रान्समा

लण्डन, २९ जेठ: प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक रेल चढेर फ्रान्स पुग्नुभएको छ । तीन दिने बेलायत भ्रमण सकेर आज अपरान्ह प्रधानमन्त्री ओली फ्रान्सको भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै लन्डनबाट फ्रान्सको पेरिस प्रस्थान गरेको मुख्य सल्लाहाकार विष्णु रिमालले जानकारी दिनुभएको छ । फ्रान्स र बेलायत जोड्ने गरी बनाइएको सुरुङमार्ग ‘इंग्लिस च्यानल’नामबाट चिनिन्छ । यसको लम्बाई ५०/४५ किलोमिटर रहेको छ । विमानबाट जाँदा धेरै समय लाग्ने र रेलबाट जाँदा छोटो समयमै पुग्ने भएकाले प्रधानमन्त्री ओलीले रेलयात्रा रोज्नुभएको हो । 

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ पुग्नु भएको हो । फ्रान्स भ्रमणको क्रममा प्रधानमन्त्री ओलीको बिहीबार आफ्ना समकक्षीसँग औपचारिक वार्ता गर्ने तय भएको छ । दुई समकक्षीबीच बिहीबार बेलुका ५ बजे करिव एक घन्टासम्म भेटबार्ता हुनेछ । परराष्ट्र मन्त्रालका अनुसार आफ्ना समकक्षीसँगको वार्तापछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ नै राष्ट्रियसभामा मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतोंलाई भेटवार्ता गर्नुहुनेछ । राष्ट्रियसभाले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

सम्बन्धित