NP EN

प्रधानमन्त्री ओली जेनेभास्थित नेपाली स्थायी नियोगको स्वागत समारोहमा

जेनेभा, २६ जेठ: प्रधानमन्त्री ओली  राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी हुनुभयो ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा उहाँले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको र अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको उल्लेख गर्दै विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

लामो बलिदानपूर्ण सङ्घर्ष पूर्ण भएर जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेका छन् भन्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो । गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताउनुभयो ।

यसअघि युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा शुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा आइपुग्नुभएको हो । जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित स्वीस मिशनका प्रमुख  भ्यालेन्टिन जेलवेगरका साथै नेपाली राजदूतसहित नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।  (रासस) 

सम्बन्धित