NP EN

विकास वातावरण मैत्री हुनुपर्दछ : प्रम ओली

काठमाडौं, जेठ २२, प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरण मैत्री  हुनुपर्ने बताउनुभएको छ । 

विश्व वातावरण दिवशका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन हुन सके मात्र  हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने उल्लेख गर्नुभएको छ ।  “मुलुक समृद्ध बनाउने अभियान चलाउँदा वातावरण संरक्षणका लागि पनि जिम्मेवार र सचेत हुन आवश्यक छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आर्थिक, सामाजिक र भौतिक उन्नतिका लागि विकासका अभियान सञ्चालन गर्दा वातावरणीय विनाशको जोखिम तर्फ सजग रहन आग्रह गर्नुभएको छ ।  “ विकास र संरक्षणको वीचमा तालमेल मिलाउने काम निकै चुनौतीपूर्ण हुन्छ । हामीले बहुआयमिक समृद्धि हासिल गर्दै जाँदा वातावरणीय विनाश हुँदै गयो भने त्यस्तो खालको प्रगति दीगो र सबैका लागि उपयोगी हुन सक्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “ प्रत्येक नेपाली नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने आफ्नो मौलिक हकको सुनिश्चितताका लागि आ–आफ्नो जिम्मेवारी पूरा गर्न अझ तत्परता र कृयाशीलताका साथ योगदान गर्नु हुनेछ भन्नेमा समेत म विश्वस्त छु ।”

प्रधानमन्त्री ओलीले नेपालको संविधानले प्रत्येक नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको  स्मरण गर्नुभएको छ । “वायुको स्वच्छता कायम गरी स्वस्थ जीवनका लागि स्वच्छ वातावरणको प्रत्याभूति गर्ने अभियानले भावी पुस्ताका लागि पनि यो मौलिक हक उपभोग सुनिश्चित गर्नेछ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले वातावरणको स्वच्छता कायम गर्न सक्नुपर्छ ।”

सम्बन्धित