NP EN

प्रमबाट भियतनामी उद्यमीलाई नेपालको सम्भावनाको उपयोग गर्न आह्वान

हनोइ, २७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे  विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा यसलाई समृद्ध  बनाउन दृढ भएको बताउनुभएको छ ।  भियताम – नेपाल व्यवसाय मञ्चलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनामबीच अहस्तक्षेप तथा आपसी सम्मानका सिद्धान्तका आधारमा सम्बन्ध गाँसिएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध बलियो भएको र आर्थिक सम्बन्ध सबलीकरण गर्ने ठूलो सम्भावना भएको बताउनुभयो । उहाँले भियतनामको व्यापारिक समुदाय उत्कृष्ट रहेको र उनीहरुको ऊर्जाले नेपाललाई अभिप्रेरणा दिएको पनि उल्लेख गर्नुभयो ।

‘‘भियतनाममा डोइ–मोइ सुधार आरम्भ भएपछि ठूलो आर्थिक सुधार भएको छ । युद्धप्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यमआययुक्त मुलुक बन्ने भियतनामको सङ्क्रमणले हामीलाई वास्तवमै अभिप्रेरित गरिरहेको छ । यो उदाउँदो अर्थतन्त्रमा चम्किलो ताराका रुपमा देखिएको छ । भियतनामको आर्थिक वृद्धि समावेशी हुनाका साथै दिगो विकास प्राप्त गर्न नमूनाका रुपमा रहेको छ । यी कुरा भियतनाम सरकार तथा व्यापारिक क्षेत्रको नेतृत्व तथा त्यहाँका जनताका कठिन मेहनतबाट सम्भव भएको हो’’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले अतिकम विकसित मुलुकबाट सकेसम्म छिटो अगाडि बढी मध्यमआययुक्त मुलुक बन्ने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्ने दृष्टिकोण राखेको बताउनुभयो ।  “ ‘दृष्टिकोण सन् २१००’ नामले नेपाल सरकारले विकासको अवधारणा तयार गरिहेको छ । यो सपना प्राप्त गर्न आधारभूत संरचना, मानव संसाधन तथा वित्तीय क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ । हामीले हालै सफलतापूर्वक लगानी सम्मेलन गरेका छौँ ।  सम्मेलनमा भियतनामसहित ४० मुलुकको सहभागिता थियो । सम्मेलनमा लगानीकर्ताले १८ ठूला परियोजनामा बचनबद्धता प्रकट गरेका छन् । लगानीकर्ताका लागि नेपाल उर्वर भूमि हो । यहाँ जहाँ पनि सुनिश्चत दरको नाफामा लगानी गर्ने पूर्ण सम्भावना छ’’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपालमा प्रचूर प्राकृतिक स्रोत र  पर्याप्त श्रमशक्ति रहेको बताउँदै उहाँले नेपालमा लगानीले विश्वका दुई ठूलो बजार भारत तथा चीनको ढोका खोलिदिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा जलविद्युत्, कृषि, खानी, औषधि तथा जडिबुटी, आतिथ्य तथा वित्तीय क्षेत्रजस्ता बहुक्षेत्रमा लगानीको सम्भावना छ । अतिकम विकसित मुलुकका रुपमा हामीसँग केही अन्तरराष्ट्रिय बजारमा सौविध्यप्राप्त पहुँच छ । श्रम लागत न्यून र प्रतिस्पर्धात्मक छ । मुलुकसँग ५७ प्रतिशत काम गर्ने उमेरको जनसङ््ख्या छ । हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । अङ्ग्रेजी भाषा बोल्ने र डिजिटल रुपमा आबद्ध युवा हाम्रा महत्वपूर्ण सम्पत्ति हुन् ।सूचना कम्प्युटर तथा प्रविधिको क्षेत्र अर्को फाइदाजनक लगानीको क्षेत्र बनेको छ’’, उहाँले थप्नुभयो ।

प्रधानमन्त्री ओलीले व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने र यसले दुई मुलुकबीच व्यापारिक समुदायमा क्रियाकलाप बढाउने बताउँदै भियतनामका लगानीकर्ता, उद्यमी तथा व्यापारीलाई नेपालमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आह्वान गर्नुभयो ।  (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी)

(सम्बोधनको पूर्णपाठ)

सम्बन्धित