NP EN

विकासका लागि तीन वटै तहका सरकारले समन्वय गर्नु पर्दछ : प्रम ओली

काठमाडौं, १३ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ ।

अन्तर प्रदेश परिषदको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले एउटै योजनामा तानातान गर्ने भन्दा पनि तीनै तहका सरकारले समन्वय र योजना नदोहोरिने गरी बजेटमा समावेश गर्नुपर्ने बताउनुभएको छ । “एउटै योजनामा तानातान होइन एउटा तहले सामेल गरेको योजना माथी अर्को तहले हस्तक्षेप गर्नु हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “सबैले समन्वय गरेर विकासका कामलाई अघि बढाउनु पर्दछ ।”

विकासका काममा पक्ष विपक्षमा बिभाजित हुनु नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । “सबै मिलेर देशलाई समृद्ध बनाउने हो । यसमा पक्ष विपक्ष भइरहनु हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो मूख्य लक्ष्य सुशासन सहित संघीयताको कार्यन्वयन र विकास हो । यसमा सबैले एकजुट भएर लाग्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले नेपालमा संघीयताको अभ्यास नयाँ भएकोले यसमा अभ्यस्त हुने क्रममा कही कतै समस्या देखिएका कुरालाई अन्यथा लिनु नुहने बताउनुभएको छ । देशको समुचित र सन्तुलित विकासका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । योजना र बजेट जनसंख्याका आधारमा मात्र वितरण गर्ने हो भने दुर्गम क्षेत्रको विकास हुन नसक्ने प्रधानमन्त्रीको भनाइ छ । “बजेट र योजना जनसंख्याको आधारमा मात्र होइन भौगोलिक अवस्था हेरेर पनि बिनियोजन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विकट भौगोलिक क्षेधमा बस्ती पनि पातलो हुन्छ विकासको खर्च पनि महंगो हुन्छ । त्यसकारण एउटा मात्र आधारमा बजेट विनियोजन गर्ने हो भने त्यस्ता ठाउँका जनताले विकासको अनुभूित गर्न पाउदैनन् । ”

प्रधानमन्त्री ओलीले विकासको बाधकका रुपमा रहेका दुर्गम बस्तीहरुलाई एकिकृत गरिने बताउनुभएको छ । प्रधानमन्त्रीले ओलीले स्थानीय,प्रदेश र संघीय सरकारले संयुक्त रुपमा यस्ता बस्ती पहिचान गरेर एकिकृत गर्नु पर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउदा प्रचारमुखी भन्दा दीर्घकालिन योजनाहरुलाई प्रथामिकतामा राख्न आग्रह गर्नुभएको छ ।

बैठकमा सातवटै प्रदेशका प्रमुख,जिल्ला समन्वय समिती,नगरपालिका संघ र गाउँपालिका महासंघका प्रतिनिधिहरुले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटका बिषयमा आफ्नो राय राख्नुभएको थियो । 

सम्बन्धित