NP EN

प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासीका कार्यक्रममा सहभागि हुने

बुटवल, ७ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने  तीनवटा कार्यक्रममा सहभागि हुनुहुने भएको छ । 

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका वडा नं १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ । तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुंदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ । सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । कार्यक्रमको नेपाल टेलिभिजन,रेडियो नेपाल लगायतका सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । कार्यक्रम बुटवल उपमहानगरपालिकाले आयोजना गरेको हो ।

यसैगरी दिउसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा जिल्ला समन्वय समिती  बर्दघाट सुस्तापूर्व नवलपरासीले आयोजना गरेको जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै दिउसो २.४५ बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौं फर्कने कार्यक्रम छ । 

सम्बन्धित