NP EN

प्रधानमन्त्री ओलीद्वारा सगरमाथाको उचाइ मापन गर्ने टोलीलाई विदाइ

काठमाडौं, २७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको  कर्मचारीको टोलीलाई आज विदाइ गर्नुभएको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जादैहुनुहुन्छ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ । टोलीले करिब  एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनुभएको छ । “नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुभएको छ । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाउनु भएको छ । “लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “गाइडको निर्देशन पालना गर्नुहोला ।”

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि हुनुहुुन्थ्यो ।  सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

 

सम्बन्धित