NP EN

प्रधानमन्त्री ओलीद्वारा त्रिशुली ३ बि जलविद्युत आयोजनाको शेयर खरिदका लागि आवेदन

काठमाडौं, ७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली ३ बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को  १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले यस शेयरका लागि पहिलो आवेदनकर्ता हनुहुन्छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शेयर खरिद गर्नुभएको हो ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गर्नुभएको छ । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गर्नुभएको छ ।

शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज  नयाँ अभ्यासको थालनी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताउनुभएको छ ।

 प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठुला आयोजनाहरु निर्माण गर्न सकिने बताउनुभएको छ । “मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्तो अभियान पर्यटन,कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ । ”


 
वहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक,कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “ यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पु¥याउन सकिन्छ ।” 
 

सम्बन्धित