NP EN

प्रधानमन्त्री ओलीद्वारा न्याम्सको उपकुलपतिमा साहलाई नियुक्ति

काठमाडौं, १ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा  सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गर्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई आज  नियुक्त गर्नुभएको हो । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको  पनि आजै  नियुक्ति गर्नुभएको छ ।

जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य,पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ ।  प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

सपथ पछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । “५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ  ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ । ”



प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिनुभएको छ । “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले  पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार  सुधार गर्न आग्रह गर्नुभएको छ । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस, तपाईंको व्यबहारले बिरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

  

सम्बन्धित