NP EN

विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ : प्रम

काठमाडौँ, २६ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।” 

नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक छ भन्नुभयो । 

नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उहाँले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गर्नुभयो । 



दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकी शहरमा भएको दुःखद घटना विश्वका लागि अन्तिम दृष्टान्त बनोस् र इतिहासमा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै उहाँले भन्नुभयो, “हामी सदैव शान्तिको पक्षमा छौंँ, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौँ ।” 
रासस

सम्बन्धित