NP EN

स्थिरताका कारण देश विकास सहजः प्रधानमन्त्री ओली

रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकास सहज भएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताउनुभयो । “स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,” उहाँले भन्नुभयो, “एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो ।”  

तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताउनुभयो । उहाँले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गर्नुभयो ।

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।



प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाउनुभयो ।

लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको जानकारी दिनुभयो ।

अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि । लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !” 

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतले पनि सम्बोधन गर्नुभयो ।

सम्बन्धित