NP EN

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना

काठमाडौं, २४ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नु हुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरूको स्मरण गर्नुभएको छ ।  

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिक कालदेखि प्रचलित “यत्र नार्यस्तु पुज्यते तत्र रमन्ते देवता” भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताउनुभएको छ । “तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुसी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नै पर्दछ,” प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।”

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रुपमा वृद्धि भएकोमा खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “मातृ मृत्यु दरमा सुधार, महिलाको कूल साक्षरता दरमा बृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका छन् । राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।” 

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहँुदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतिहरु रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । “आज पनि लैंगिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नु परेको छ,” प्रधानमन्त्रीको भनाइ छ, “आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म “समृद्ध नेपाल र सुखी नेपाली”को राष्ट्रिय संकल्प साकार हुन सक्दैन । त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्ने छन् भन्ने कुरामा म विश्वस्त छु ।”

सम्बन्धित