NP EN

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, १५ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।  

आज राती मन्त्री अधिकारीका परिवारलाई समवेदना दिन मन्त्री क्वाटर पुल्चोक पुग्नुभएका प्रधानमन्त्री ओलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । घटना सुन्ने बित्तिकै आफूलाई समेत सम्हालिन गा¥हो भएको प्रधानमन्त्रीले सुनाउनुभयो । प्रधानमन्त्री ओलीले मृतकका परिवारको हेरचाह सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

“छोराछोरी पढाउने, आफ्नो गुजारा चलाउने कुरामा चिन्ता नगर्नुहोस । त्यसका लागि सरकारले सहयोग गर्छ ” मृतकका परिवारसँग प्रधानमन्त्री ओलीले भन्नुभएको छ । सबै मृतकका निवासमा मन्त्रीहरु सहित पुग्नु भएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिती समेत गठन गरेको जानकारी गराउनु भएको छ । 



तेह्रथुमको चुहानडांडांमा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यावसायी आङछिरिङ शेर्पा,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ,निर्देशक ध्रुव भोछीभोया,प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,सुरक्षाकर्मी अर्जुन घिमिरे र चालक प्रभाकर केसी जानुभएको थियो । चुहानडांडाबाट पाथीभरा मन्दिरमा पुजा गरेर फर्कने क्रममा फूङलिङ नगरपालिका १० को आज दिउसो १ बजे  सिस्नेभिरमा दुर्घटना भएको थियो ।

यसैगरी प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ती जारी गरेर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा निधन भएका मन्त्री एवं केन्द्रीय सदस्य अधिकारी पार्टी र सरकारका एक होनोहार योद्धा भएको स्मरण गर्दै वहाँको निधनले पार्टी र सरकारलाई अपुरणीय क्षती भएको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित