NP EN

​कम्युनिस्ट भनेको अधिकतम लोकतन्त्रः प्रधानमन्त्री ओली

धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी सच्चा लोकतन्त्रवादी हुने स्पष्ट पार्नुभएको छ । सुदूरपश्चिम प्रदेश सभा बैठकलाई आज धनगढीमा सम्बोधन गर्दै उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुन नदिने उल्लेख गर्नुभयो ।

“कम्युनिष्ट भनेको अधिनायकवाद होइन, अधिकतम लोकतन्त्र हो,” प्रधानमन्त्रीले भन्नुभयो, “जनअभिमत र लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध छौं ।” उहाँले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र विधिको शासनमा सम्झौता नगर्ने बताउनुभयो ।

विकासलाई प्रतिशतका आधारमा मात्रै मापन गर्न नसकिने प्रधानमन्त्रीको भनाइ छ । “९० प्रतिशत गरिवी हट्यो भनेर १० प्रतिशतलाई गरिवीमै राख्न मिल्दैन,” उहाँले भन्नुभयो ।

कानुन निमाृ्णका लागि एक वर्ष खर्च गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसैमा टेकेर सुशासन विकासलाई अगाडि बढाउने बताउनुभयो । स्थायित्व र स्थिरतामा मात्रै देश विकास हुने उहाँको भनाइ छ । प्रधानमन्त्रीले विकट क्षेत्रमा एकीकृत वस्ती विकास गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले द्वन्द्वका घाउमा मलमपट्टी लगाउनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्रीले प्रदेश सांसद विकास र समृद्धिका अभियन्ता रहेको बताउँदै आचरणमा ध्यान दिन आग्रह गर्नुभयो ।

सम्बन्धित