NP EN

राससले विकासको गतिलाई अघि बढाउन मद्धत गर्ने विस्वास : प्रम ओली

काठमाडौँ, ७ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस) जस्तो देशव्यापी सञ्जाल भएको संंस्थाले विकासको गतिलाई अझ बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रासस स्थापनाको ५८औँ वर्ष प्रवेश गरेको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अलग राजनीतिक परिवेशमा स्थापना भएको राससको भूमिका आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । “देश आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर भएको र सङ्घीयताको अभ्यास अघि बढिरहेको आजको सन्दर्भमा सत्य, तथ्य र आधिकारिक सूचनाको स्रोतका रुपमा यो समाचार संस्था अपरिहार्य बन्न पुगेको देखिन्छ ।
 खासगरी विकास र निर्माणका लागि नवप्रवद्र्धनात्मक सोच र सिर्जनशील प्रयत्नलाई प्रोत्साहन गर्न सूचनाको हकको भूमिका कति अहं हुन्छ भन्ने उदाहरण यो संस्थाले प्रस्तुत गर्न सक्दछ ।” प्रधानमन्त्री ओलीले प्रविधिको यस युगमा राससले अत्याधुनिक प्रविधिको प्रयोग गरी सूचना प्रवाहको गति र परिणामसमेत बढाउन सकोस् भन्ने कामना गर्दै यसले विविध क्षेत्र तथा विषयलाई समेटेर सामग्री उत्पादन गर्न सफलता हासिल गर्दै जाओस् भन्ने शुभकामना दिनुभएको छ ।
विसं २०१८ फागुन ७ गते स्थापित राससले मङ्गलबार आफ्नो केन्द्र र सातै प्रदेशमा स्थापनाको ५८ औँ वार्षिकोत्सव मनाउँदैछ । रासस

सम्बन्धित