NP EN

शिक्षा सदनले गरेको काम असाधारण : प्रधानमन्त्री

काठमाडौँ, २७ माघ :प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदनले गरेको काम असाधारण भएको बताउनुभएको छ ।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यले पनि सहयोग गर्ने बताउनुभयो । 

स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ ।” 

“उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,” प्रधानमन्त्रीले थप्नुभयो । राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उहाँले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको सङ्ज्ञा दिनुभयो । 

यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएकोे बताउनुभयो । केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उहाँले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताउनुभयो । 

सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिनुभयो । सम्मानले आज महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उहाँको भनाई थियो । 



योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ ।” 

कार्यक्रममा वल्र्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गर्नुभयो । उहाँले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिनुभयो ।

सम्बन्धित