सिराहा, १९ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको छ । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइएपनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताउनुभएको छ । “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको कामले ति सबै कुराको जवाफ दिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हुलाकी सडकको निमार्ण,भैरवहा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण,तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिन अघि झापा विमानस्थलमा रात्रीकालिन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुदैछ ।”