काठमाडौं, १७ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नयाँ नयाँ कामको थालनी गरिरहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ३४ औं वार्षिकउत्सव तथा अत्याधुनिक प्रसारण प्रविधि (एचडी )प्रसारणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकारले हरेक क्षेत्रमा उच्च र आधुनिक प्रविधिको प्रयोग गर्दै देशलाई अघि बढाउने बताउनुभएको छ । “कृषि,सञ्चार,स्वास्थ्य,उद्योग,व्यापार आदिका क्षेत्रमा अब हामीले अत्याधुनिक प्रविधिको उपयोग गर्नु पर्दछ र नेपाललाई अघि बढाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपाल टेलिभिजन स्थापना भएको आफुले पोखरा जेलमा सुनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “जनताका अधिकार र लोकतन्त्रको मलाई त्यती बेलाका शासकले मलाई जेलमा थुनेका थिए” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यती बेला टेलिभिजन स्थापना हुनु एउटा परिवर्तन थियो । यो सुनेपछि मलाई लाग्यो देश परिवर्तनको मार्गमा छ । एकदिन हामी लक्ष्यमा पुग्नेछौं ।” प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजन व्यवस्थापनलाई प्रविधिसँगै विषयवश्तुमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ ।