NP EN

शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त : प्रम ओली

काठमाडौं,माघ ,१६,प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

राणा शासन विरुद्ध विं सं १९९७ मा  दशरथ चन्द,शुक्रराज शास्त्री,धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले वहाँहरुको बलिदानीले  नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गर्नुभएको छ ।

“पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै   नेपाली समाज  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ । ”

दशकौं अघि क्रान्तीवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।  प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । “यस  परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रकृयामा सहभागी भई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

सम्बन्धित