NP EN

देश विकासमा उल्लेखनीय परिवर्तन गर्ने इच्छा छ : प्रम ओली

काठमाडौं २ माघ, 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर समय गुजार्ने पक्षमा नभई आर्थिक समृद्धि र देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउने दृढता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकलाई आज  सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई तथ्याङ्क (डाटा) खेलाउने रहर छैन, परिवर्तन गरेर देखाउने मन छ ।”

प्रधानमन्त्री ओलीले सरकारले आगामी पाँच वर्षभित्र जनताको आर्थिक जीवनस्तरमा आमूल परिवर्तन गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने उल्लेख गर्दै “अब नेपालले श्रमिक उपलब्ध गराउने देश होइन, विद्वान् उत्पादन गर्ने देशको परिचय बनाउने छ भन्नुभयो ।

सङ्घीयता कार्यान्वयन गर्न अन्तरप्रदेश सहजीकरण गर्न गत मङ्सिर ३ गते जारी भएको २१ बुँदा कार्यान्वयन भइराखेको चर्चा गर्दै उहाँले अब विकासका योजनामा सङ्घ, प्रदेश र स्थानीय बीचमा अझ बढी समन्वय हुँदै जानेछ भन्नुभयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको हित र विकासका लागि नेपाल सरकारका विभिन्न निकाय र तहले छुट्टाछुट्टै निकायका रुपमा होइन, समन्वयकारी रुपमा काम गर्नुपर्छ ।”

उहाँले राष्ट्रिय गौरवका योजनालगायत ठूला आयोजना निर्धारित समयभित्र पूरा गर्न देखिएका समस्याको पहिचान गरी तत्काल समाधान निकाल्न निर्देशन पनि दिनुभयो ।

“सरकारले राजनीतिक रुपमा बहुमत मात्र होइन, नीतिगत रुपमा स्थायित्व र स्पष्ट विचारधारा बोकेको छ, सुशासन र विकास गर्दै समतामूलक, समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “समाजवादको वैज्ञानिक रुप ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो ।”

प्रधानमन्त्री ओलीले अहिले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण र संशोधनमा ध्यान दिइरहेको उल्लेख गर्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हुनैपर्छ भन्नुभयो ।

अतिमहत्वाकाङ्क्षी तर व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालका योजना कार्यान्वयनमा ल्याउन जोड दिदैं उहाँले नेपाललाई साक्षर देश, ‘डिजिटल नेपाल’ बनाउने दिशामा सरकार अघि बढेको बताउनुभयो ।



प्रधानमन्त्री ओलीले ग्रामीण दूरसञ्चार कोषमा सञ्चित भएको रकमबाट सबै जनतामा सूचना प्रविधिको पहुँच पु¥याइने दृढता व्यक्त गर्दै विकासका योजना समयमा सम्पन्न गर्न र जनताका सेवामा कुनै पनि ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो ।

“कृषिको आधुनिकीकरण गर्दै तीव्र पर्यटन विकास, आधारभूत स्वास्थ्य सेवाको पहुँच सबै जनतामा पु¥याउन सरकारको ध्यान गएको छ”, उहाँले भन्नुभयो, “जेठ १५ मा बजेटको खर्च हेर्दा सन्तोषजनक प्रगति देखाएन, अबको समीक्षामा बस्दा यस्तो स्थिति आउनुहुँदैन ।”
 
प्रधानमन्त्री ओलीले कर्मचारी समायोजन प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ, समायोजन प्रक्रिया टुङ्गिएपछि प्रदेश तहमा कर्मचारीको गुनासा तथा समस्या सम्बोधन हुनेछ भन्दै १५ औँ योजना तय गर्दा व्यावहारिक पक्षलाई ध्यान दिन जोड दिनुभयो ।
 
–––

सम्बन्धित