NP EN

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताउनुभएको छ ।

२९७ औं पृथ्वी जयन्तिका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ । “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,” प्रधानमन्त्रीले भन्नुभएको छ, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।”

प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायतका अनेक विविधताका बीच मजबूत एकताको आधार तयार गर्नुभयो,” शुभकामना सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।” संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेकाबेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “पृथ्वीनारायण शाहको स्मरण गर्दै गर्दा प्रतिकात्मक रुपमा हामी एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन वलिदान गर्ने असंख्य ज्ञात–अज्ञात योद्धाहरुप्रति समेत श्रद्धाञ्जली व्यक्त गरिरहेका छौं,” प्रधानमन्त्रीले भन्नुभएको छ, “पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्यताप्रति हामी सदैव गौरव गर्दछौं ।” 

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मान सहितको समतामूलक समाज सुनिश्चित गरेको बताउनुभएको छ । “हामी राज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधि अनुरुप अघि बढिरहेका छौं । आजको युगमा अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ । 

सम्बन्धित