NP EN

​निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ । 

चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्‍याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरु ढुक्क भएर अगाडि बढ्नुहोस्, निजी क्षेत्रका उद्यमी, व्यापारीलाई अप्ठ्यारो पार्ने कानून संशोधन तथा नयाँ कानून निर्माण गर्नुपर्ने भए सरकारलाई सुझाव दिनुहोस् ।” 

प्रधानमन्त्रीले मौजुदा ऐन कानूनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन गर्न सरकार तयार रहेकोसमेत बताउनुभयो । “देश, जनता र विकासका लागि आवश्यक सम्पूर्ण ऐन, कानून सरकारले परिमार्जन गर्छ,” मुलुकको विकास सरकारको एक मात्र उद्देश्य रहेको प्रस्ट्याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो । 

सरकारका बारेमा विभिन्न भ्रम सिर्जना गर्ने प्रयन्त भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले लोकतन्त्रका लागि सङ्घर्ष गरेको व्यक्तिबाट कुनै हालतमा अधिनायकवाद नआउने प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “कसैले ल्याइदिएको लोकतन्त्र हामीले प्रयोग गरेको होइन, लोकतन्त्र ल्याउन सङ्घर्ष गरेको पिँढी यहीँ छ, लोकतन्त्र हामीले ल्याएको प्रणाली हो, लोकतन्त्र ‘ढाँटी खाने मागी खाने’ प्रणाली होइन्, आम जनताको प्राणलीका रुपमा अभ्यास गर्नुपर्छ ।” 

वर्तमान सरकार गठन भएको १० महीनाको अवधिमा हासिल प्रगतिको तथ्याङ्क आफूले प्रस्तुत गर्दा कसैकसैलाई अप्ठ्यारो महसुस भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हामी तथ्याङ्कमा खेल्न चाहँदैनौँ, प्राप्त उपलब्धिलाई प्रस्तुत गर्न चाहन्छौँ ।” 

विकासका कामलाई तीव्रता दिँदै गरीबी निवारण गर्न सरकार तयार रहेको धारणा राख्दै प्रधानमन्त्री ओलीले नेपाललाई तीन वर्षभित्र कम विकसित मुलुकको सूचीबाट माथि उकास्दै १२ वर्षभित्र सहस्राब्दी विकास लक्ष्य हासिल गर्न जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सामाजिक न्याय, समानताको प्रत्याभूति गराउँदै हरेक नागरिकलाई सेवा, सुविधा प्रदान गर्न त्यसतर्फ सरकारको ध्यान केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 



सङ्घीयताको अभ्यास नेपालमा नयाँ भएकाले जनताको आकाङ्क्षा सम्बोधन गर्न केही समय लागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा तीन तहको सरकार गठन भएको सन्दर्भमा अधिकारको प्रयोगका बारेमा समस्या देखिएको बताउनुभयो । 

महिला उद्यमीको सशक्तीकरणमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले महिला उद्यमशीलता विकास गर्न सरकार तयार रहेको प्रस्ट पार्नुभयो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको बहुतहगत (मल्टिलेयर्ड) कर प्रणालीका कारण उद्योगी, व्यवसायीलाई निरुत्साहित गरेको बताउँदै करको दर भन्दा दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिनुभयो । 

कार्यक्रममा विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता महेश्वर महर्जन, मिस नेपाल शृङ्खला खतिवडा, मिस युनिभर्सको उत्कृष्ट १० मा पर्न सफल मनिता देवकोटा लगायतलाई चेम्बर विशिष्ट सम्मान प्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले चेम्बरले प्रकाशन गरेको ‘सङ्घीयतामा समृद्धि’ नामक स्मारिका विमोचन गर्नुभएको थियो । 

निजी क्षेत्रको संवद्र्धन र संरक्षण गर्दै सरकार, अन्तर्राष्ट्रिय र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्दै आएको चेम्बरमा ४८ वस्तुगत सङ्घ, २२ द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ र ३६ वटा आबद्ध सङ्घ सहकार्यमा रहेका छन् । त्यस्तै चेम्बरले ६५ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्शसँग समझदारीपत्रमा हस्तक्षर गरिसकेको छ । 
-रासस

सम्बन्धित