NP EN

देश निर्माणका लागि तीनवटै सरकारको सम्बन्ध सुमधुर हुनुपर्दछ : प्रम ओली

काठमाडौं, ३ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले  देश निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ । अन्तर प्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै  आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले तीन प्रकारका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने बताउनुभएको छ । “सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नु पर्दछ । अहिले हामीले अवलम्बन गरेको प्रणालीले सबैलाई अवसर दिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “संघीय प्रणाली हाम्रा लागि नयाँ भएकोले त्यसमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ । तर हामी उपयुक्त प्रणाली मै छौं ।”

“अहिले एउटा सरकारको अधिकार अर्को सरकारले लिए जस्तो । एउटाले अधिकार आफूसँग राखेर अर्कालाई नदिए जस्तो महसुष भएको देखिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “एउटा सरकारको अभ्यासबाट ७६१ वटा सरकारको अभ्यास गर्दा यस्तो हुन्छ । एक ठाउँबाट भिड अगाडी बढ्यो भने एउटाले अर्कोको जुता टेक्छ । कसैको चप्पल छोडिन्छ । कहीं ठेलमठेल पनि होला तर केही अघि बढेपछि सबै आफ्नो आफ्नो बाटोमा सजिलै हिड्न सक्छन् । अहिले हामी त्यही सुरुवाती यात्रामा भएकोले अफ्ठेरो जस्तो महसुष भएको हो ।”

प्रधानमन्त्री ओलीले  दाताका नाममा बजेटमा नदेखिने,लेखा प्रणालीमा नआउने किसिमका अनुदान र सहयोग नलिन सबैलाई निर्देशन गर्नुभएको छ । “नेपाल कसैको अभ्यास गर्ने थलो होइन । दाताको सहयोगमा यहाँ भाडभैलो मच्चाउने तत्वहरु घुस्न सक्छन् । त्यस्तो सहयोग नेपाललाई चाहिदैन । कसैले पनि त्यस प्रकारका सहयोग स्वीकार नगर्नुहोस ।”

गत मंसिर २४ गते अन्तर प्रदेश परिषदको बैठकले संघर प्रदेशका समस्या समाधान गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा एक समिती गठन गरेको थियो । समितीले आज पेश गरेको प्रतिवदेनका  विषयमा मन्त्रीहरु,मूख्यमन्त्रीहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीसँग आजै संघीय संसदका सभामुख,उपसभामुख र सातै प्रदेशका सभामुख ,उपसभामुखले भेट गर्नुभएको छ । भेटमा प्रदेशका उपसभामुखको मर्यादा पुनरावलोकन गर्न माग गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले नयाँ मर्यादा काम गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।  

सम्बन्धित