NP EN

दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट देशले समृद्धि हासिल गर्छ : प्रम ओली

काठमाडौं, ३ पुस, प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गर्नुभएको छ । “देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले क्रियाशिल हुनुपर्दछ । आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यन्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”

बर्षेनी लाखौं नेपाली यूवा रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हटाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीकोे सन्देशमा उल्लेख छ । “स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेश मै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रिायशिल रहेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धि महासन्धीको नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हक,अधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभएको छ ।
  

सम्बन्धित