NP EN

प्रधानमन्त्री ओली र विभिन्न देशका राष्ट्रप्रमुखबीच भेटवार्ता

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीसँग एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीसँग आज इरानका पूर्वउपराष्ट्रपति हसन गाफोरी फार्डले शिष्टाचार भेटवार्ता गर्नुभयो । 

नेपाल र इरान भौगोलिकरुपमा नजिक रहेको मित्र राष्ट्र भएकाले एक अर्काको साझा चासो र हितका विषयमा उहाँहरुबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । 

उहाँहरुबीच आइक्यापलाई प्रभावकारी बनाउने र सक्रियतापूर्वक अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो । 

आइक्यापमा एशिया प्रशान्त क्षेत्रका २०० भन्दा बढी देशका सत्तारुढ र प्रमुख पार्टी सदस्य रहेकाले यसलाई थप प्रभावकारी बनाउन एकआपसमा मिलेर काम गर्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको डा भट्टराईले जानकारी दिनुभयो । 

यस्तै प्रधानमन्त्री ओलीसँग सामुआका अफिओगा टुइमालिआलिफानो भालेतोआ सुआलौभी द्वितीय र उहाँका धर्मपत्नीले पनि आजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भेटका अवसरमा उहाँहरुबीच जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा हिउँ पग्लिइरहेको र तटीय क्षेत्रका देशसमेत समस्यामा पर्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न मिलेर जाने विषयमा महत्वपूर्ण छलफल भएको डा भट्टराईले उल्लेख गर्नुभयो । 

नेपाल सरकारले प्रदान गरेको आतिथ्यताकोसमेत उच्च प्रशंसा गर्दै यहाँको अनुभवलाई आफ्नो देशमा समेत लागू गर्ने भन्दै उहाँले खुशी व्यक्त गर्नुभएको थियो । 

उहाँहरुबीच संयुक्त राष्ट्रसङ्घको सदस्यका हैसियतले संयुक्त राष्ट्रसङ्घको मञ्च तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा समान धारणाका साथ प्रस्तुत हने विषयमा पनि विचार विमर्श भएको थियो । 

यस्तै प्रधानमन्त्री ओली र नाउरका राष्ट्रपति बारोना दिभाभेसी बाक्वाबीच पनि आजै शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा उहाँहरुबीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने, जलवायु परिवर्तन तथा दुई देशका साझा विषयमा समान धारणाका साथ अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने विषयमा कुराकानी भएको थियो । 

एशिया प्यासिफिक सम्मेलनको दुई वटा महत्वपूर्ण विषय जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय शान्ति भएकाले सोही विषयमा नै प्रधानमन्त्री ओलीले भेटवार्ताका क्रममा जानकारी गराउनुभएको थियो । 

जलवायु परिवर्तनको नकारात्मक प्रभाव कम गर्न अन्तर्राष्ट्रियरुपमा सहयोग तथा ऐक्यबद्धताका विषयमा नै द्विपक्षीय भेटका क्रममा विचार विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो । 
(रासस) 

सम्बन्धित