NP EN

लघु वित्तले सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरिवी निवारण अभियानमा सहभागी हुन लघु वित्त संस्थाहरुलाई अपिल गर्नुभएको हो ।

“सहरी र रिङरोडभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा जानुपर्छ,” काठमाडौंमा आजदेखि सुरु भएको दोस्रो लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “महंगो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन्, सञ्चालकको रुचि होइन लक्षित समूहको हित हेर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु वित्तको ठूलो योगदान हुने पनि उल्लेख गर्नुभयो । “किनभने साना लगानीबाट ठूला उद्यम भएका उदाहरणहरु छन्,” उहाँले भन्नुभयो । सुगमदेखि दुर्गमको सहभागिता रहेकाले लघु वित्तका सदस्य समृद्ध र सुखी भए गरिवीको समस्या आधा हल हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लघु वित्तको विकासलाई बाधा पर्ने कुनै कानुन भए सरकार संशोधन गर्न तयार रहेको पनि बताउनुभयो । “कुन कारणले कसरी अप्ठ्यारो परेको छ, सम्मेलनबाट सुझाव दिनुहोस्,” प्रधानमन्त्रीको भनाइ छ, ‘सरकार पासो थापेर होइन, लघुवित्तलाई सहयोग गर्न बसेको छ ।”

विभिन्न षड्यन्त्रहरुबाट आएका शासकबाट जनता लामो समय शासित हुनुपरेकाले विकास हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिले मुलुकमा स्पष्ट दृष्टिकोण र जनताको माया गर्ने सरकार रहेको बताउनुभयो । ठूला अन्तर्राष्ट्रिय सम्मेलन भएको, दुवै छिमेकीसँगको सम्बन्ध सन्तुलित भएको बताउँदै मुलुक तीब्र विकासको गतिमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले विगतदेखि नै पूरा गर्न सक्ने कुरामात्र बोल्ने गरेको बताउँदै आफूले बोलेका कुराहरु समयक्रममा पूरा हुने उल्लेख गर्नुभयो ।

सम्बन्धित