NP EN

प्रधानमन्त्री ओली र टुभालुका सरकार प्रमुखबीच भेटवार्ता

काठमाडौं,१४ मंसिर, प्रधानमन्त्री केपी शर्मा ओली र टुभालुका सरकार प्रमुख (गभर्नर अफ जेनेरल) लावोका टाइना इटालेली  (Lakoba Taeia Italeli ) बीच आज साँझ होटल सोल्टीमा भेटवार्ता भएको छ ।

भेटमा जलवायु परिवर्तनले दुवै देशलाई पारेका असर र त्यसबाट जोगिनका लागि अपनाउनु पर्ने सजगताको विषयमा छलफल भएको छ । समुद्रको टापुको देश भएकोले जलवायु परिवर्तनका कारण समुद्रको सतह बढ्दै जाँदा देशकै अस्तित्व खतरामा परेको भन्दै इटालेलीले चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बढ्दो तापक्रमका कारण नेपालका हिमालमा हिउं पग्लिने क्रम बढेको इटालेलीलाई अवगत गराउनु भएको थियो । “तपाईंहरु टापुको देशको हामी हिमालयन क्षेत्रको देश । जलवायु परिवर्तनको नकारात्मक असर दुवै देशलाई उस्तै छ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै उहाँको परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भन्नुभयो “समान समस्यामा हामीले समान धारणा बनाएर जानु पर्दछ । जलवायु परिवर्तनको असरबाट जोगिने उपाय खोज्नु पर्दछ ।”



इटालेलीले कुनै पनि देश सानो वा ठुलो जे भए पनि समानताका आधारमा अस्तित्वमा रहने संयुक्त राष्ट्रसंघको मान्यतालाई नेपालले आत्मसाथ गरेकोमा प्रशंसा गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्रीको ओलीका मूख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा.भट्टराई पनि हुनुहुन्थ्यो ।

सम्बन्धित