NP EN

आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रम ओली

काठमाडौं,१० मंसिर, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभएको छ ।

उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । “परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “खनिज पदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ । ”


 
प्रधानमन्त्री ओलीले दुई तिहाइ वहुमत सहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ । “बहुमतले मात्र देशको विकास हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा पनि वहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ । यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।”

देश निर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तीको  विषय मात्र भन्दा पनि आम जनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । 

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । “ सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।”

संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले  आग्रह गर्नुभएको छ । “संसदको आगामी अधिवेशनमा संसोधन गर्नुपर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं । ”
 

सम्बन्धित