NP EN

​सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि : प्रम ओली

काठमाडौं २३ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । 

सन्देशमा प्रधानमन्त्री ओलीले जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइने छ ” सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित छौं । ” 

हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । यसै उद्धेश्यका लागि केही समय अघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरिएको  प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्नुभएको छ । “देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ । सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामीसँग सक्रिय जनसंख्याको बाहुल्यता छ । यस अनुकूलतताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउदैछौं ।”

समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।




 

सम्बन्धित