NP EN

समृद्ध नेपालको लक्ष्य हासिल गर्न सरकार तिव्र गतिमा : प्रम ओली

काठमाडौं,८ कातिक,प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न सरकार तिव्र गतिमा अघि बढेको बताउनुभएको छ ।

आफूलाई  भेट्न आएका  भारतीय कम्यूनिष्ट पार्टी माक्र्सवादीका महासचिब सिताराम यचुरीसँग कुरा  गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले देश कृषिको आधुनिकिकरण,उर्जा,रेल मार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । “नेपाल नयाँ युगमा प्रवेश गरेको छ । राजनीतिक स्थिरता सुरु भएको छ । यही मौकालाई उपयोग गर्दै हामी देशलाई विकसित बनाउने अभियानमा छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



महासचिब यचुरीले नेपालको विकास,उर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले  रक्सौल – काठमाडौं रेल,रसुवागढी –काठमाडौं रेल,पूर्व –पश्चिम रेलको सर्भेक्षण भइरहेको र तिनको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताउनुभयो । विद्युत उत्पादनलाई प्राथमिकतमा राखिएको बताउदै प्रधानमन्त्री ओलीले सौर्य उर्जा,जीओ थर्मल  र गरुत्वआकर्षणबाट विद्युत उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धिले हिमतालहरु जोखिममा परेको तराईमा मरुभूमिकरण बढ्ने अवस्थालाई सरकारले गम्भिर रुपमा लिएको बताउनुभएको छ । “विश्वव्यापी तापमानमा वृद्धिको कारणले हिमतालमा भएको जोखिमले चुरे रिचार्ज हुन नपाँउदा तराइमा हुने मरुभूमिकरण रोक्न हामी गम्भिर छौं ” प्रधानमन्त्री ओलीले बताउनुभयो ।

भेटमा भारतीय कम्यूनिष्ट पार्टी माक्र्सवादीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल,नेकपा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र बिष्णु रिजाल पनि सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित