NP EN

प्रधानमन्त्रीद्वारा प्रज्ञाको कुलपतिमा उप्रती र सदस्यमा उपाध्याय नियुक्त

काठमाडौं, २१ असोज, प्रधानमन्त्री  तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले तेह्रथुमका डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चारबर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गर्नुभएको छ । यसैगरी सदस्यमा दैलेखका  जगत प्रसाद उपाध्यायलाई नियुक्त गर्नुभएको छ । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भएको छ । 

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताउनुभएको  छ । प्रधानमन्त्री ओलीले नेपाली वाङमयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताउनुभएको छ । “साहित्यिक अभियान,राजनीति,शासन सञ्चालन,उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको बताउनुभएको छ । नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो  “यो प्रणालीबाट धेरैे संस्कार सिक्न सकिन्छ । ”

प्रधानमन्त्री ओलीले नेपालका साँस्कृतिक पर्वहरुले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताउनुभयो । सामाजिक रुपमा ,पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व,झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुन स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ छ । “दिदी भाइ बीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइ बीच झगडा भए दशैंले मिलाइदिन्छ । दाजु बहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा सामाजिक पर्वहरुले सम्बन्धलाई पुनमरमत गर्ने काम गरेका छन् ।”

सम्बन्धित